Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

झगेन्द्र खड्का
गौरादह, ७ पुष । मानव जिवनलाई स्वास्थ्य जीवनयापन गर्दै निरोगी रहन स्वास्थ्य सम्बन्धि जनचेतना गाउँका कुनाकाप्चा सम्म पुर्याउन आवश्यक रहेको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन। गौरादह नगरपालिका वडा नं.५ महारानीझोडाको स्कुलचौनमा आयोजना गरिएको क्यान्सर रोकथाम,नियन्त्रण,परिक्षण सम्बन्धि निशुल्क शिविरको उद्घाटन गर्दै मन्त्री कार्कीले दिनप्रतिदिन नयाँ-नयाँ रोगहरु देखिरहेको समयमा नागरिकहरु रोगबाट बच्न आफुपनि सजक हुनुपर्ने धारणा राखेका छन। मुलुक भित्र रहेका सामाजिक संघ संस्थाहरु संग स्थानीय निकायले समन्वय गरेर स्वास्थ्य सम्बन्धि जनचेतना गाउँघरमा गर्न सकिने बताएका छन।

स्वास्थ्य शिविरको अवसरमा संचालन गरिएको क्यान्सर रोग सम्बन्धि तालिमलाई सबै नागरिकहरु समक्ष लैजान स्वास्थ्य कर्मीहरुलाई आग्रह गरेका छन। रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु उचित हुने बताउदै मन्त्री कार्कीले निरोगी बनी स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन । नागरिकहरुको अनुरोधका आधारमा विकास निर्माणको काम गर्दा बजेट अभाव भई विकास निर्माणका काम अधुरा रहेकाले अब प्राथमिकिकरणका आधारमा काम सम्पन्न गर्ने बताए।

जनताको चाहना छिटो भन्दा छिटो विकास हुनुपर्ने भएकाले सोहि अनुसार सबैतिर काम थालेर अधुरा रहँदा जनताले विश्वास नगरेको बताए। राष्ट्र सेवक कर्मचारीहरुले इमान्दारीका साथ जनताको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन। राष्ट्र सेवक कर्मचारीहरुले देश र जनताका लागि निर्वाह गर्नु पर्ने भूमिका र त्यसको पालनाकालागि कर्तव्य निष्ठ भएर जिम्मेवारी पुरागर्नु पर्ने बताएका छन।

गौरादह नगरपालिका,महारानी झोडा सानाकिसान कृषि सहकारी संस्था,महारानी झोडा बचत तथा ऋण सहकारी संस्था,जनहित बचत तथा ऋण सहकारी संस्थाले संयुक्तरुपमा आयोजना गरेको क्यान्सर रोकथाम,नियन्त्रण र परिक्षण सम्बन्धि शिविरको उद्घाटनको अवसरमा यस क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरुलाई क्यान्सर रोग सम्बन्धि प्राथमिक उपचारकालागि तालिम संचालन गरिएको थियो। तालिममा यस क्षेत्रका ४० जना स्वास्थ्य सहायक कर्मचारीहरु सहभागी भएका थिए।

तालिममा महिलाहरुको पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर,मुख र घाँटीको क्यान्सर रोगको नियन्त्रणका लागि प्रशिक्षण दिईएको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले जानकारी गराए।
उद्घाटनको पहिलो दिन सोमवार (आज)तालिम संचालन गरिएको र मंगलवार र बुधवार निशुल्क स्वास्थ्य शिविर संचालन गरिने महारानी झोडा साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीले बताए।

बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्यान्सर रोकथाम,नियन्त्रण,तथा अनुसन्धान विभागको प्राविधिक सहयोगमा संचालन गरिने शिविरमा गरिमा कडेल मेमोरियल ट्रष्ट काठमाडौं को सहयोग रहेको छ। महारानी झोडा साना किसान कृषि सहकारी संस्था अध्यक्ष मिना ढकालको सभापतित्वमा शिविरको उद्घाटन भएको थियो।

सो अवसरमा गरिमा कडेल मेमोरियल ट्रष्ट का अध्यक्ष गंगाराम कडेल र गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए। गौरादह नगरपालिका वडा नं.५ का वडाध्यक्ष छत्रपती सुबेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा महारानी झोडा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मित्रदेव काफ्लेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया