Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २ पुष । नेपालमा वस्तु आयात गर्दा त्यस्ता वस्तुको वर्गीकरण र उत्पतिको निर्धारणका सम्बन्धमा पूर्वअनुमति लिनुपर्ने भएको छ। भन्सार विभागले कार्यविधि बनाएर पूर्वादेश लिनुपर्ने व्यवस्था अनिवार्य गर्न लागेको हो।

विभागले कार्यविधिको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। क्योटो महासन्धि र विश्व व्यापार संगठन अन्तर्गत व्यापार सहजीकरण सम्झौतामा मालवस्तुको वर्गीकरण, उत्पत्तिको निर्धारणलगायत विषयमा सम्बन्धित पक्ष राष्ट्रले पूर्वादेश दिनुपर्ने प्रावधान छ। नेपाल उल्लिखित महासन्धि एवं सम्झौताको पक्ष राष्ट्र भएकाले पूर्वादेशसम्बन्धी व्यवस्था गर्नुपर्ने हुन्छ। यद्यपि अन्तर्राष्ट्रिय रूपमा गरेको प्रतिबद्धता पालना गर्न सकेको छैन। यो व्यवस्था कार्यान्वयनमा आएसँगै मुलुकमा आयात गर्ने वस्तुका सम्बन्धमा ६० दिन अगाडि नै आयातकर्ताले निवेदन दिनुपर्नेछ।

उपमहानिर्देशक मनमाया पंगेनी भट्टराईले भनिन्, ‘भन्सार ऐनमा यो व्यवस्था छ। तर कार्यान्वयन गर्न आवश्यक कार्यविधि छैन। भन्सार ऐनमै नयाँ व्यवस्था गर्ने तयारी भइरहेको छ। त्यसअघि कार्यविधि बनाएर कार्यान्वयन गर्दै जाने योजना छ।’

भन्सार ऐन, २०६४ बमोजिम सरकारले मालवस्तुको वर्गीकरण सम्बन्धमा पूर्वादेश जारी गर्न सक्ने गरी राजपत्रमा सूचना प्रकाशित गरी समिति गठन गर्न सक्ने व्यवस्था छ। यद्यपि, सोही ऐनमा गठित समिति सम्बन्धमा अन्य व्यवस्था सोही सूचनामा तोकिएबमोजिम हुने उल्लेख गरिएकाले विभागले कार्यविधि बनाउनुपरेको भट्टराईले जानकारी दिइन्।

उनका अनुसार यो व्यवस्थाले वैदेशिक व्यापारलाई सहज र अनुमानयोग्य बनाउनेछ। ‘सामान आयात गर्ने व्यक्तिले वस्तुको आयात गर्नुपूर्व वर्गीकरण र उत्पतिको जानकारी दिन्छ। यसका आधारमा विभागका महानिर्देशकले पूर्वादेश दिन्छन्’, उनले भनिन्, ‘यसले वस्तु आयातमा आउनसक्ने कठिनाइ कम गर्न मद्दत पुर्‍याउछ।’अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया