Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

अनलाइनबिचार, काठमाडौँ– देशमा ब्याप्त सबैखाले सिण्डिकेट अन्त्य गर्नु आजको टड्कारो आवस्यकता हो भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायव महानिरीक्षक (डिआईजी)हरुलाई निर्देशन दिएका छन् ।

‘यतायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिण्डिकेट हटाउनुहोस्’ निर्देशनका क्रममा गृहमन्त्री थापाले भने । उनले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।

आईतबार गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख,केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआईजीहरुलाई आइतबार मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्विकार्य नहुने बताएका हुन् ।

‘गृहमन्त्रालयले तपाईहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ, सबै जिम्मेवारी आफैमा महत्वपूर्ण छन् । हाम्रो अपेक्षा र विश्वास तपाईहरुले पूरा गर्नुहुनेछ’ मन्त्री थापाको भनाई थियो । सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्रीको भनाई छ । उनले सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको भएको भन्दै त्यसतर्फ सचेत रहन उनीहरुलाई सचेत गराए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments