काठमाडौं, २४ कार्तिक । औषधि व्यवस्था विभागले देशभरका ३ हजार ४ सय ४ फार्मेसीमा गरेको निरीक्षणमा औषधिसम्बन्धी जानकारी नभएका व्यक्तिले सर्वसाधारणलाई औषधी बिक्री गर्ने गरेको पाइएको छ । अनुगमनका क्रममा औषधिसम्बन्धी जानकारी नभएका व्यक्तिले सर्वसाधारणलाई त्यसको बिक्री गर्ने गरेको तथ्य बाहिरिएको हो ।
अनुगमन गरिएकामध्ये ६ सय ६२ फार्मेसीमा प्रमाणपत्र एउटाको र बिक्री गर्ने व्यक्ति अर्कै राख्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । औषधि ऐनअनुसार फार्मेसी जसका नाममा दर्ता छ, उही व्यक्तिले औषधि बेच्नुपर्दछ। ‘केही व्यवसायीले भने आफू नबसी औषधिसम्बन्धी सामान्य जानकारीसमेत नभएका व्यक्तिलाई फार्मेसीको जिम्मा दिएको पाइएको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए । औषधिजस्तो संवेदनशील वस्तुको बिक्री अदक्ष व्यक्तिबाट हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए ।
अनुगमनमा भेटिएको प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । औषधि ऐनविपरीत फार्मेसी सञ्चालन गर्ने १ सय १३ फार्मेसीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । कारबाहीमा परेर ४० फार्मेसी बन्द भएको विभागका निमित्त महानिर्देशक क्षेत्रीले बताए । ५९ फार्मेसीलाई बढीमा ६ महिनासम्म सञ्चालन गर्न नपाउने र १४ फार्मेसीमाथि मुद्दा चलिरहेको उनको भनाइ छ । ५० वटा फार्मेसी दर्ता नभई चलेको भेटिएको थियो । काठमाडौं, नेपालगन्ज, वीरगन्ज र विराटनगरका केही फार्मेसी त्यसरी चलेको पाइएको उनले बताए ।
‘केही फार्मेसीले दर्ताबिनाका औषधि पनि बेच्ने गरेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । ‘विभागबाट अनुमति नलिएका औषधि बेच्ने १ सय १५ फार्मेसी पनि कारबाहीमा परेका छन् ।’ दर्ताबिनाका औषधि भेटिएमा ती औषधि जफत गर्ने र फेरि यस्ता औषधि नराख्न चेतावनी दिएको क्षेत्रीको भनाइ छ । ‘भारतसँग खुला सिमाना भएकाले दर्ताबिनै औषधि भित्रिइरहेका छन् । यस्ता औषधि नियन्त्रण गर्न विभागलाई ठूलै चुनौती रहेको उनले बताए ।
औषधि ऐन २०३५ अनुसार फार्मेसीले ‘नार्कोटिक’ (लागूऔषधमा प्रयोग हुन सक्ने औषधि) बेच्दा छुट्टै सूची बनाउनुपर्छ । तर पनि केही फार्मेसीले नियम मिचेका छन् । नियम मिच्ने २ सय १३ फार्मेसी पनि कारबाहीमा परेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।कान्तिपुर






