Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, फागुन २५ । झापाको गौरादह नगरपालिकालाई एक महिनाभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने गरी नगरपालिका र वडा तहमा कार्ययोजना तयार गर्नुका साथै नगरपालिकाले थप रकम विनियोजन गरेको छ ।

अभियान कार्यान्वयनको जिम्मेवारी वडाहरुलाई दिइएको छ । बिहीबारको नगर कार्यपालिकाको बैठकले जिम्मेवारी बाँडफाट गर्दै एक महिनाभित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने योजना बनाएको हो ।

अर्थमन्त्री, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीदेखि महान्यायाधिवक्ता र सरसफाइ दूतको नगर र प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिका सबैभन्दा धेरै शौचालय बन्न बाँकी रहेको र नगरपालिकामा जिल्लाका प्रहरी र प्रशासन प्रमुखले घरदैलो गरेपछि गौरादह नगरपालिका माथि चौतर्फी दवाव बढिरहेको थियो ।

१२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा मात्र ३ हजार घरधुरीमा शौचालय बन्न बाँकी रहेका कारण जिल्लाका सरोकारवालाहरुको ध्यान समेत गौरादहमा नै केन्द्रित भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यपालिकाको बैठकले सरसफाइ गुरुयोजना २०६८ अनुरुप सक्षम घरधुरीले घरायसी चर्पी आफै बनाउनुपर्ने र अति विपन्नको हकमा शौचालय निर्माणको सामग्री सहयोग गर्ने समेत निर्णय गरेको छ । “अति विपन्नलाई निर्माण सामग्री सहयोग गर्नका लागि यसअघि वडा तहमा विनियोजन गरिएको रकम अपुग भएका कारण हिजोको कार्यपालिका बैठकबाट २८ लाख ५० हजार रकम थप गरिएको हो”, नगर प्रमुख रोहितकुमार साहले भन्नुभयो, “नगरपालिकाको तर्फबाट अभियानको प्रभावकारिताका लागि उपप्रमुखको अध्यक्षतामा अनुगमन समिति निर्माण गरिएको छ ।”

तीन हजार घरधुरीमा शौचालय निर्माणका लागि कम्तिमा १५ हजार सिमेण्ट रिङ आवश्यक पर्ने भएकोले नगरपालिकाभित्र रहेका सबै रिङ उत्पादकलाई रिङ उत्पादनको जिम्मेवारी दिनुका साथै अपुग रिङहरु छिमेकी कमल गाउँपालिका र दमक नगरपालिकाबाट समेत ल्याउने तयारी वडाहरुले गरेका छन् । बाहिरबाट ल्याउनुभन्दा पनि सकेसम्म स्थानीय रुपमा नै उत्पादन गर्न सकेमा सुलभ र सजिलो हुने वडा नं. ५ का अध्यक्ष छत्रपति सुवेदीले बताउनुभयो ।

वडा नं. ७ र ८ मा स्थानीय तहमा नै रिङ उत्पादन पर्याप्त रहेको छ भने वडा नं. १ र २ मा बाँकी घरधुरीका लागि वडाकै सक्रियतामा निर्माण सामग्री उत्पादन भैरहेको छ ।

टोल समिति र अभियानकर्ताहरुको जिम्मेवारी

यसअघि नै वडाहरुले आफ्नो वडालाई खुल्ला दिसामुक्त गर्नका लागि वडातहको रकमबाट सरसफाइ कोष खडा गरिसकेका छन् । तोकिएको अवधिमा खुल्ला दिसामुक्त घोषणा गर्नका लागि विपन्न घरधुरीलाई निर्माण सामग्री सहयोग गर्नुपर्ने ठहर गरी नगरपालिकाले वडाहरुलाई रकम थप गर्नुका साथै सहयोग संयन्त्र समेत खडा गरेको छ ।

“टोल सुधार समितिका संयोजक र खुल्ला दिसामुक्त अभियानका सहजकर्ताको टोलीले विपन्न घरपरिवारको पहिचान गरी शौचालय निर्माणका लागि खाडल खनिसकेपछि निर्माण सामग्री उपलब्ध गराउन पूर्जा प्रदान गर्छन्”, खुल्ला दिसामुक्त अभियानका क्षेत्रीय संयोजक राजु भट्टराईले भन्नुभयो, “सामग्री प्राप्त गरेपछि चर्पी बनाउने काममा प्राविधिक र प्रक्रियागत सहयोग गर्ने कार्य अभियानकर्ताहरु र टोल सुधार समितिको टोलीले गर्छ ।”

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

९ वडा रहेको गौरादहमा वडा नं. ३ र ९ खुल्ला दिसामुक्त अवस्थामा पुगेका छन् भने बाँकी वडाहरुमा खुल्ला दिसामुक्त अभियान सुस्त रहेको थियो ।

सोही योजनाअनुरुप शुक्रबार धेरै चर्पी बन्न बाँकी वडाहरुमा खुल्ला दिसामुक्त अभियान व्यवस्थापनका लागि भएको बैठकले मिस्त्रीको अभाव हुन नदिनका लागि स्थानीय स्तरमा स्वयंसेवकहरुलाई समेत परिचालन गर्ने निर्णय गरेको छ । विपन्न घरधुरीलाई शौचालय निर्माणमा सघाउन र अभियानमा प्राविधिक सहयोगका लागि आवश्यकता अनुसार प्राविधिक र स्वयंसेवकहरुको टोली परिचालन गर्ने अभियानका क्षेत्रीय संयोजक प्रदीप पुरीले जानकारी दिनुभयो । वासखबरबाट 

तपाईको प्रतिक्रिया