Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

भोजराज दाहालराजनीतिक विश्लेषक, गौरादह झापा

६, श्रावण । आज नेपाली राजनीतिका एक शिखर पुरुष स्वर्गीय वीपी कोइरालाको जन्मजयन्ति । यस अवसरमा नेपाल एकीकरणका महानायक स्वर्गीय पृथ्वीनारायण शाहका साथ–साथ नेपाली राजनीतिका अन्य शिखर पुरुषहरु स्व. पुष्पलाल श्रेष्ठ, स्व. महेन्द्र वीरविक्रम शाह, र स्व. मदन कुमार भण्डारी समेतलाई स–सम्मान हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

हाल नेकपाको दुईतिहाई वहुमतको सरकार भएपनि स्पष्ट लक्ष र गन्तव्यको अभावमा मुलुक र सरकार निकासहिन अलमलको भुमरीमा फसेको अनुभूति हुन्छ.। यस अवस्थामा मुलुकलाई निकास दिनको निम्ति सरकार र राजनैतिक दलहरु आ–आफ्ना आग्रह पूर्वाग्रहबाट माथि उठी यो देश सवैको साझा हो र यसको अगाडि देखा परेका समस्याहरु सबैका साझा हुन् भन्ने मान्यतालाई आत्मसात गरी समस्याको समाधान सवैले मिलेर खोज्नु पर्ने वाद्यात्मक अवस्था श्रृजना भएको समेत अनुभूति हुन्छ ।

यसको निम्ति पहल गर्ने पहिलो दायित्व सत्तारुढ दल नेकपा र त्यस दलको नेता तथा प्रधानमन्त्रि केपी ओलीकै हुन जान्छ । कठिन मोडहरुमा सफल नेतृत्वले कहिलेकाहीं कठोर र अलोकपृय निर्णय पनि लिनु पर्ने हुन्छ । कठिन र संकटका क्षणहरुले नै राजनेता जन्माउँछ ।

यसको निम्ति नेपाली इतिहासमा नाम लेखाएका शिखर पुरुषहरुका देनलाई सम्मानपूर्वक ग्रहण गर्दै उनीहरुको मार्गनिर्देशनलाई एकीकृत गरि ग्रहण गर्न सकियो भने अझै पनि नेपाल र नेपालीको उज्वल भविष्य सुनिस्चित नै छ ।

यो लक्षमा पुग्ने मार्गचित्र तयार गर्नको निम्ति ०६२÷०६३ को आन्दोलनका उपलव्धिहरु. को पनि समिक्षा गर्न सवै विना आग्रह पुर्वाग्रह तैयार रहनै पर्दछ.। यदि ति उपलव्धिहरु नेपाल र नेपालीको निम्ति वास्तविक उपलव्धि ठहरेनन् भने संवैधानिक रुपमा एक कदम पछाडि आएरै भए पनि निकासको साझा मार्ग खोज्नै पर्दछ ।

असार–साउन (जुन–जुलाई) का महिना नेपाली राजनीतिका शिखर पुरुषहरु वीपी कोईराला, पुष्पलाल श्रेष्ठ, महेन्द्र शाह, मदन भण्डारी समेतका जन्मजयन्तिका महिनाहरु हुन्। पृथ्वी नारायण देखि मदन भण्डारी सम्मका नेता तथा विचारकहरुका कारण आज हामी नेपाली हुन पाएका छौ, नेपाली काँग्रेस हुन पाएका छौं, नेपाली कम्युनिष्ट हुन पाएका छौं ।

नेपालीको विशिष्टता भनेकै हाम्रो भाषा, संस्कृति, भेषभुषा, धर्म, चाड,परम्परा हुन । यीनीहरुको वारेमा गौरव गरौं ।
देश कुनै व्यक्तिको, परिवारको, दलको अर्थात समूहको पेवा होईन। देशलाई कुनै व्यक्ति, परिवार तथा समूहको घेरा भित्र सिमित गर्ने र गर्न खोज्ने हिजोको संकिर्ण र सामन्ति दवदवाको परिणाम २००७ साल देखि नै हरेक दशकमा त्यस्तो जनविरोधि प्रवृत्तिको विरोधमा विप्लवि (विद्रोही) प्रवृत्ति देखा परेको छ ।

नेपाली कांग्रेसको नेतृत्वका वम काण्ड, तथा विमान अपहरण काण्ड, नेकपा नेतृत्वको ०२८ को झापा विद्रोह, ०३५ र ३६ को पञ्चायत विरोधि संयुक्त विद्यार्थी आन्दोलन, ०४६ र ०४७ को निर्लियता विरोधि संयुक्त आन्दोलन, ०५२–०६२ मा माओवादीको नाममा सञ्चालित सशस्त्र विद्रोह, ०६२ र ६३ को निरंकुशता विरोधि संयुक्त आन्दोलन यी सवै नै नेपाली राजनीतिमा देखा परेका विप्लवि (विद्रोही) आन्दोलन हुन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

हरेक दशकमा नेपाली जनताले विप्लवी आन्दोलन व्यहोर्नु पर्ने नियति किन जन्मिन्छ ? आजको गम्भिर प्रश्न यही हो । मानिसका आधारभुत आवश्यकताका कुराहरु गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारको जवसम्म सुनिस्चितता हुँदैन जवसम्म राज्य सवै जनताको साझा हो भन्ने अनुभूति हुँदैन जवसम्म सरकारवासी दल र व्यक्तिहरुले राज्य संयन्त्रलाई जनता माथि आफ्नो हैकम जमाउने हतियारको रुपमा प्रयोग गरिरहन्छन् ।

राज्य कोषलाई आफ्नो र आफ्नाहरुको संकिर्ण स्वार्थ र लाभको निम्ति “दुहुने भैंसी” बनाई रहन्छन,फरक विचार,मान्यता र दलका मानिसहरुलाई आफ्नो खाईन–पाईन तथा हाली मुहालीको दुष्मन ठानिरहन्छन् र सर्वसाधारण जनतालाई “यान्त्रिक दास” ठानिरहन्छन् राजनीतिमा “विप्लवहरु र विप्लवि आन्दोलनहरु” जति प्रतिवन्ध लगाए पनि, जति दमन,धरपकड गरेपनि रोकिंदैनन् । यो नेपालको आठ÷नौ दशकका अनेकन आन्दोलनहरुले प्रमाणित गरिसकेका छन् ।

त्यसैले, यस्ता “विप्लवि आन्दोलनहरु” लाई सदाको निम्ति अन्त्य गर्नु आजको आवश्यकता हो । यसको निम्ति राष्ट्रिय राजनीतिका जिम्मेवारहरुले पुनः एक पटक, ०६२र०६३ को पुर्व अवस्थामा आई, सर्वदलिय मात्रै हैन, सर्वपक्षिय र राष्ट्रिय स्तरको गोलमेच सम्मेलनको आयोजना गरि अविलम्व दीर्घकालिन निकास तर्फ लाग्नु आजको आवश्यकता हो ।

यस सम्मेलनले (राजतन्त्र हैन) पुरानो राजावादी मान्यता वोकेका शक्ति र हाल प्रतिवन्धित भनिएको “विप्लववादी” शक्तिलाई पनि, देश उनीहरुको पनि हो भन्ने मान्यतालाई स्वीकार गरि गोलमेचमा सहभागी गराउन सक्नु पर्दछ ।
अन्त्यमा, स्वर्गीय रुपचन्द्र विष्टको “जो जति शक्तिमा छ, देश सप्रे विग्रेकोमा उ त्यतिनै जिम्मेवार हुन्छ…!” भन्ने भनाईलाई पस्कँदै, हालको सत्तारुढ दल नेकपा र त्यसका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओली प्रति वढी नै आशावादी नजरले हेर्दै र आग्रह समेत गर्दै अन्तर मनका कुराहरु जस्ताको तस्तै राख्ने जमर्काे गरेको छु ।

स्व. पृथ्वीनारायण शाह देखि कमरेड स्व. मदन भण्डारी सम्मका माथि उल्लेखित र फोटोमा प्रस्तुत नेपाली राजनीतिका अग्रणी तथा शिर्ष नेताहरु प्रति सम्मान जाहेर गर्दै पुनः हार्दिक श्रद्दान्जली अर्पण गर्दछु ।

तपाईको प्रतिक्रिया