Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा । उदयपुरको तपेश्वरी–१ की अनिषा ढुंगाना ११ वर्षकी भइन् । उनी बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माविमा कक्षा २ मा अध्ययनरत् छिन् ।

आठ वर्षकी हुँदा स्कूल भर्ना भएकी उनी झट्ट हेर्दा साङ्गजस्तो देखिए पनि शारीरिक रुपमा अशक्त छिन् । अनिषामा सुन्ने र बोल्ने शक्ति छैन । आठ वर्षसम्म उनको बोली नआएकाले अध्ययनका लागि उदयपुरबाट झापा ल्याइएको थियो । पढाइको महत्व बुझेका उनका हजुरबुबाले मोहनमायामा सुस्तश्रवण भएका विद्यार्थीलाई आवाससहित पढाइन्छ भन्ने थाहा पाएर तीन वर्षअघि पूर्व प्राथमिक तह (बाल शिक्षा) को विशेष कक्षामा भर्ना गराउनुभएको थियो ।

उनीमात्र होइन इलाम जिर्मलेकी युनिषा स्याङ्बो पनि शारीरिक रुपमा अशक्त छिन् । उनमा पनि त्यही समस्या छ । बाह्र वर्षीया युनिषा पनि कक्षा २ मा अध्ययनरत् छिन् । मोरङ टाँडीकी टीका भट्टराई र झापा जलथलकी जमुना लिम्बू पनि सोही विद्यालयका छात्रा हुन् । टीका कक्षा २ मा अध्ययनरत् छिन् भने जमुना कक्षा ४मा अध्ययनरत् छिन् ।

शारीरिक रुपमा अशक्त भएका विद्यार्थीका लागि मोहनमायाले २०५२ सालदेखि विशेष कक्षा सञ्चालन गर्दै आएको छ । अहिले सो विद्यालयमा सुस्तश्रवण भएका २१ विद्यार्थी विशेष कक्षामा अध्ययनरत् छन् । विसं २०२४ मा स्थापना भएको मोहनमाया जिल्लाकै नमूना विद्यालयमध्येकै एक हो । सो विद्यालयमा अहिले ७४३ विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयतर्फ जिल्लाकै नमूना विद्यालयका रुपमा परिचित मोहनमायामा सुस्तश्रवण भएका विद्यार्थीका लागि सञ्चालित विशेष कक्षा पनि अब्बल छ । आवाससहित अध्ययनरत् बालबालिकाका लागि विद्यालयमा अम्बिका दाहाल र कमला न्यौपाने अधिकारी दुईजना ‘केयर टेकर’का रुपमा कार्यरत् हुनुहुन्छ । उहाँहरुले विद्यार्थीलाई २४सै घण्टा रेखदेख गर्नुहुन्छ भने अध्यापनका लागि दुईजना विशेष शिक्षक कार्यरत् रहेको बताइएको छ ।

पाँच कक्षासम्म विशेष कक्षा सञ्चालन हुँदै आएको मोहनमायामा अहिले दुई वटा कक्षामात्र सञ्चालनमा रहेको विद्यालयकी शिक्षक सिर्जना पौडेलले बताउनुभयो । विद्यार्थी अभावका कारण कक्षा २मा नौ छात्रासहित ११ र कक्षा ४ मा पाँच–पाँच छात्रछात्रा अध्ययनरत् रहेको उहाँकोे भनाइ छ । यसअघि सो विद्यालयमा कक्षा ५ सम्म नै पठनपाठन हुँदै आएको थियो ।

सुस्तश्रवण भएका बालबालिकालाई सांकेतिक भाषामा पढाउनुपर्ने हुन्छ । हाल उपलब्ध पाठ्यक्रममा सांकेतिक भाषा छैन । सामुदायिक विद्यालयसरहकै पाठ्यक्रम हुँदा बालबालिकालाई सिकाउन कठिनाइ भइरहेको शिक्षक पौडेलको भनाइ छ ।

सरकारले सुस्तश्रवण तथा दृष्टिविहीन, सुस्तमनःस्थिति भएका बालबालिकाको शिक्षाका लागि मासिक रु चार हजार प्रदान गर्दै आएको छ । सोही रकमबाट विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । सरकारले १० महिनामात्र त्यस्ता विद्यार्थीका लागि प्रत्येक वर्ष रकम प्रदान गर्दै आएको छ ।

दृष्टिविहीन तथा सुस्तश्रवण भएका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने रकम न्यून भएकाले उनीहरुलाई आवाससहित अध्यापनका लागि सहज नहुने विद्यालयले जनाएको छ । टाढाटाढाका विद्यार्थी पढ्न आउने हुँदा बस्न, खान र पढ्न सरकारले उपलब्ध गराएको रकमले नपुग्ने विद्यालय स्रोतले जनाएको छ ।

प्रत्येक महिना रु ५०० बचत

मोहनमाया माविमा विशेष कक्षामा अध्ययनरत विद्यार्थीले प्रत्येक महिना रु पाँच–पाँच बचत गर्दै आएका छन् । २ र ४ कक्षामा अध्ययनरत २१ विद्यार्थीले प्रत्येक महिना लक्ष्मी बैंकमा रु पाँच–पाँच सय बचत गर्दै आएको विद्यालयकी शिक्षक पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया