धरान, १२ असार । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र रेक्टरको कार्यालयमा तालाबन्दी भएको छ । स्नातकोत्तर(एमडि/एमएस)को कोटामा विदेशी विद्यार्थीलाई बढी प्राथमिकता दिएर सिट छुट्याएको भन्दै प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आज बिहान तालाबन्दी गरेको हो ।
सोसाइटीले उपकुलपति र रेक्टरको कार्यालय प्रवेश गर्ने मुल चेनगेटमा नै तालाबन्दी गरिदिएका छन् । तालाबन्दी पछि जुनियर रेसिडेन्टहरु उपकुलपतिको कार्यालयअघि धर्नामा बसेका छन् ।
यसअघि, गत शनिबार प्रतिष्ठानले एमडि/एमएसको प्रवेश परीक्षा लिएको थियो भने सोमबार रिजल्ट प्रकाशन गरेको थियो । लगत्तै, जुनियर रेसिडेन्टहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको विपरीत विदेशी विद्यार्थीलाई बढी कोटा छुट्याएको भन्दै सच्याउन ७२ घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटमको सुनुवाई नभएपछि तालाबन्दीमा उत्रन बाध्य भएको सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलले बताए ।






