Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा । २३ औँ जनयुद्धको अवसरमा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा सहभागि वक्ताले नेपालमा गणतन्त्र स्थापनामा हुनमा जनयुद्धको मुख्य भूमिका रहेको बताएका छन् ।

माओवादी अध्ययन केन्द्रले आयोजना गरेको ‘दश बर्षे जनयुद्धका उपलब्धी’ बिषयक अन्तरक्रियाका सहभागिले नेपालमा गणतन्त्र, धर्म्निरपेक्षता, संघीयता, समानुपातिक सिद्धान्त लागु गराउन जनयुद्धको भूमिका रहेको बताए । अध्ययन केन्द्रका तर्फबाट पत्रकार तारामणि सापकोटाले ‘दश वर्षे जनयुद्धका उपलब्धी’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले संविधानमा संघीय गणतन्त्रको स्थापना, धर्म्निरपेक्षता र समावेशी सिद्धान्त स्वीकार्नुमा जयुद्धको योगदान रहेको बताए । जनयुद्धले सशस्त्र क्रान्तिको आवश्यक्ता र सान्दर्भिकताको पुष्टी गरेको उनले बताए । संसारलाई तरंगित पार्ने दश वर्षे जनयुद्धको उचित मूल्याङ्कन गर्नु पर्नेमा उनको जोडथियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पत्रकार सापकोटाको कार्यपत्रमाथि एमाले नेता कुन्दन भट्टराई, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाई, जनमुक्ति सेनाका तत्कालिन व्रिगेडियर कमाण्डर श्यामबीर लिम्बु शौभाग्यले टिप्पणी तथा सुझाव राखेका थिए ।

एमाले नेता भट्टराईले माओवादी जनयुद्ध कम्युनिष्ट आन्दोलनमा एउटा प्रयोग भएको बताए । उनले जनयुद्ध नभएको भए तत्काल नेपालमा गणतन्त्र सम्भव नहुने बताए । उनले भने, ‘सबै खाले परिवर्तन र क्रान्तिको उचित मूल्याङ्कन हुनु पर्छ ।’
कार्यक्रममा प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईले नेपाली काँग्रेसले सात सालको क्रान्तिमा संविधानसभाको मुद्धा उठाएपनि पछि छाडेको बताए । काँग्रेसले छाडेको एजेण्डा माओवादीले उठान गरेको बताउँदै भने,‘माओवादीको संविधानसभा र गणतन्त्रको नारालाई जनताले स्वीकारेका हुन् । माओवादी जनयुद्ध नभएको भए हामी अहिले गणतन्त्रमा हुँदैन थियौं, गणतन्त्र ल्याउनमा मुख्य भूमिका जनयुद्धको छ ।’

जनमुक्ति सेनाका पूर्व व्रिगेड कमाण्डर श्यामबीर लिम्बु शौभाग्यले जनयुद्धको बिषयमा फरक फरक विचार राख्ने साथिहरुबाट उच्च मूल्याङ्कन भएकोमा खुःसी प्रकट गरे । ‘जनयुद्ध र जनमुक्ति सेनाको अवमूल्यन गर्ने कुराले हाम्रो मन खिन्न हुन्थ्यो तर आज उच्च मूल्याङ्कन गुर्नु भएकोमा सबैलाई धन्यवाद दिन्छु’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद पूर्ण्सिंह राजवंशीले जनयुद्धका परिवर्तनलाई संस्थागत गर्नु पर्नेमा जोडदिए । माओवादी अध्ययन केन्द्रका अध्यक्ष रमेश गुरागाईले नेपालको माओवादी जनयुद्ध विश्व कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बनेको बताए । विश्व कम्युनिष्ट आन्दोलनमा नेपालको जनयुद्ध अध्ययन बिषय भएकोमा बताए । उनले भने,‘नेपालको द्न्द्व व्यवस्थापन र रुपान्तरण विश्वका लागि नयाँ मोडल भएको छ । यो अन्य मुलुकका लागि अध्ययनको बिषय बनेको छ ।’

सहभागिका तर्फबाट रिडर्स झापाका निरज कट्टेलले जनयुद्धको दुई अतिबाट मूल्याङ्कन हुने गरेको बताए । उनले एउटा पक्ष जनयुद्धको क्रान्ति र परिवर्तनमा कुनै योगदान छैन भन्ने छ, अर्को जनयुद्धले मात्र परिवर्तन सम्वभ भएको हो भन्ने बुझाई त्रुटिपूर्ण रहेको टिप्पणी गरे । उनले भने,‘जनयुद्ध परिवर्तनका लागि पूर्याएको योगदानको सहि मूल्याङ्कन हुनु पर्छ, भावी पुस्ताका लागि जनयुद्धको यथार्थ मूल्याङ्कन आवश्यक छ ।’

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनयुद्ध गणतन्त्र स्थापनामा योगदान पूर्याएको कुरालाई सबैले स्वीकार गर्नु पर्ने बताए । सीके चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका ढकालले जनयुद्धमा व्यक्त प्रतिवद्धता र आदर्शमा को कति अडिएको छ भन्ने बिषय बहस हुनु पर्ने बताए । उनले जनयुद्धमा जनतालाई केन्द्रमा राखे जस्तो अहिले पनि जनता केन्द्रीत हुन सक्ता मात्र जनयुद्धका उपलब्धी सस्थागत हुन सक्ने बताए ।

कार्यक्रममा सहभागि भूपाल सापकोटा, अरुण श्रेष्ठ, देवी ओझा, चन्द्रकान्त ढकाल लगायतले जनयुद्धले गरेको सामाजिक तथा साँस्कृतिक परिवर्तनले निरन्तरता पाउन नसकेको बताए । कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तब्य इन्दिरा कार्कीले गर्नुका साथै कार्यक्रम अध्ययन केन्द्रका डण्डिराज घिमिरेले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया