Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

“मान्छे भएको कारण हामी मात्र नाम पाउँछौ, तर सम्मान पाउन आँफै कर्म गर्नुपर्दछ ।” –सेक्सपियर

बनिसकेको बाटोमा सजिलै सबै हिँड्छन् तर बाटो बनाउँदै हिँड्ने विरलै हुन्छन् । गतिशिल, परिवर्तनशील, युगको चेतनाबाहक, अथक कर्मयोद्धा स्व.देवीप्रसाद काफ्ले ती विरलै युगपुरुष मध्येका एक हुन् । समाजको प्रगतिशील परिवर्तनका लागि आफ्नो पुरै जीवनकाल समाजसेवामा खर्चेका यस्ता व्यक्तित्वको देहवसान पश्चात देवीप्रसाद काफ्ले स्मति ग्रन्थ २०७१ प्रकाशन भएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

महात्मा गान्धीले भने झै “जसले अधिक सेवा गर्छ, उही अगुवा हो ।” समाजका यस्ता अजम्बरी अगुवाको गौरवपूर्ण जीवनी व्यक्तित्व, संस्मरण तथा स्मृति ग्रन्थले समाजलाई सकारात्मक परिवर्तनको पथमा अघिबढ्ने उत्साह, हौसला र पथप्रदर्शन प्रदान गर्दछ । यो स्मृति ग्रन्थ त्यो युगको स्वर्णिम इतिहास संग्रह हो । पछिल्लो पुस्ताले यो ग्रन्थबाट स्व.काफ्लेको त्याग, बलिदानी र निष्ठालाई आत्मसात गर्दै रचनात्मक र सृजनशील क्षेत्रमा आफूलाई समाहित गर्ने प्रेरणा प्राप्त गर्नेछन् ।

२०२३ सालमा पिण्डेश्वर क्याम्पस धरानबाट साहित्यमा स्नातक (शास्त्री) सम्मको अध्ययन पूरा गरी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय स्व.देवीप्रसाद काफ्ले वि.सं. १९९९ माघमा ताप्लेजुङ्ग फाकुम्बामा जन्मनु भएको थियो । झापा तत्कालिन महारानीझोडा गाविसका संस्थापक प्रधानपञ्च, २०३८ सालदेखि दुई कार्यकाल जनपक्षीय उमेद्वारका रुपमा प्रधानपञ्च र प्रजातन्त्रको पुनः स्थापना पश्चात २०४९ पछिका दुवै स्थानीय निर्वाचनमा एमालेबाट गाविस अध्यक्षमा विजयी हुनु भएको थियो । २०३० देखि स परिवार ताप्लेजुङ्गबाट साविक महारानीझोडा बसाईसरी आफ्नो जीवनको कर्मथलो सोही गाविसलाई बनाउँदै सबैको मन जित्न सफल नेतृत्व जसलाई गुमाउनु पर्दा गौरादहका बासिन्दाहरु ग्राम पिता गुमाएको महसुस गरिरहेका छन् । ब्रेन हेम्ब्रेजको कारण ७१ वर्षको उमेर २०७० वैशाख ३० गते उहाँको निधन भएको थियो ।

समाजका यस्ता सामाजिक तथा राजनीतिक व्यक्तित्व देवी प्रसाद काफ्लेको स्मृतिमा देवी प्रसाद काफ्ले स्मृति प्रतिष्ठान गठन भई संचालित छ । प्रतिष्ठानले समाजमा बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दैरहेको छ । यो स्मृति ग्रन्थ सोही प्रतिष्ठानद्वारा प्रकाशित हो । गोपाल काफ्लेद्वारा सम्पादन गरिएको ग्रन्थमा नेकपा एमालेका तत्कालिन केन्द्रिय अध्यक्ष झलनाथ खनाल, नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत १२५ जना लेखक साहित्यकारहरुको लेख, रचना समाविष्ट छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस स्मृति ग्रन्थमा स्व. देवीप्रसाद काफ्लेको बारेमा विभिन्न सामाजिक, राजनीतिक, साहित्यकार, स्रष्टाहरुका रचनाका केही अंशहरु –

तिम्रा लक्षित कार्य बाँकी जति छन् खोजेर सब हिँड्दछौ
थालेका जति कार्य छन् ती अधुरा जम्मै पूरा गर्दछौ
तिम्रो आँट र धैर्यता अब उता जम्मै मिलोस हामीमा
तारा ध्रुव सरी रही गगनमा हेर्नु महारानीमा ।
(साहित्यकार कृष्ण प्र. नेउपाने, गौरादह )

जवानी अवस्था देखि नै समाजसेवा र राजनीतिमा रुची राख्ने देवी प्रसाद काफ्लेको सेवा ताप्लेजुङ्गको फाकुम्बादेखि झापाको महारानीझोडा सम्मले पायो । कुनै एउटा पार्टीको बफादार नेता कार्यकर्ता भएर पनि “सबैको” हुन सक्नु भएको थियो काफ्ले । उहाँको शव यात्रामा उर्लिएको जनमास हेर्दा नै थाहा हुन्थ्यो की उहाँ हेर्दा साधारण तर असाधारण समाजिक ओज भएको मान्छे हो । (पत्रकार चेतन अधिकारी, )

उहाँको शिष्ट पन, नम्रता, गम्भीरता, विषयवस्तु प्रतिको कौतुहलता, आधिकारीक बन्ने प्रयत्न जस्ता कुराले देवी जीको व्यक्तित्वलाई अग्लो बनाएको मैले महसुस गरेँ । गाउँ घरका मानिस देवीजीलाई संरक्षक जस्तै मान्दा रहेछन् । राजनीतिक सिद्धान्तको प्रभावमा रहेर पनि उहाा धेरै चै सामाजिक कार्यकर्ता रहेको मैले महसुस गरेँ ।
(लीला उदासी, बरिष्ठ अधिवक्ता, चारपाने–१, झापा )

मृदुभाषी, सरल र नरम मान्छेले आन्दोलनको नेतृत्व कसरी गर्न सक्छ भन्ने एउटा जीउँदो प्रमाण उहाँ नै हुनुहुन्थ्यो । गाउँ फर्क राष्ट्रिय अभियान मार्फत तत्कालिन पञ्चहरुले समेत पत्याएर २०३२ सालताका जनप्रतिनिधि चयन गरी उहाँलाई जिम्मेवारी सुम्पे तर पञ्चको आदर्शलाई आत्मसात गर्नुभन्दा जनपक्षीय भएर चुनौति स्विकार्ने उहाँको इच्छा शक्ति अत्यन्त बलशाली थियो ।
(चन्द्र भण्डारी, प्रवन्ध निर्देशक, कञ्चनजंघा एफ.एम., विर्तामोड)

शास्त्री पास गरेका र हलो जोत्दै, स्कूल पढाउँदै सामाजिक रुपान्तरणको अभियानमा लाग्नु भएका देवी काफ्लेको अर्को पनि विशेषता रहेछ – उहाँ जननेता मदन भण्डारीका दाजु मनोज भण्डारीका सहपाठी हुनुहुँदो रहेछ र मदनलाई केही समय पढाउनु पनि भएको रहेछ ।
(प्रदिप ज्ञावली, नेता नेकपा एमाले)

भौतिक रुपमा स्व.देवी प्रसाद काफ्ले नरहेता पनि उहाँको आदर्श, उहाँले देखाउनु भएको बाटो यो समाजमा सजिव छ । उहाँले देखाउनु भएको सच्चा समाजसेवाका बाटोमा हिँड्न सक्यौ भने ती आदर्शको अनुसरण गर्न सक्यौं भने उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । प्रकाशित स्मृति ग्रन्थले स्व.देवी प्रसाद काफ्लेलाई अजम्बरी बनाएको छ । यो भविष्यका कर्णधारहरुको राष्ट्र निर्माणको प्रेरणाको आधारशिला जग बन्ने छ ।

–डण्डीराज घिमिरे ‘विवेक’

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया