Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं ३० बैशाख । कतै तपाईँका पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो सेतो वा रातो हुने, विस्तारै बाङ्गो भएजस्तो त देख्नुभएको छैन ? यदी त्यस्तो समस्या देखिएको छ भने त्यो आँखाको क्यान्सर अर्थात रेटिनोब्लास्टोमा हुन सक्छ । यो बालबालिकाहरुको आँखामा हुने एक खालको क्यान्सर रहेको बाल आँखा क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् ।

तिलगंगा आँखा प्रतिष्ठानका (रेटिनोब्लास्टोमा) आँखा क्यान्सर रोग विशेषज्ञ डा. वेन लिम्बुले नेपालमा पाँच बर्षमुनिका बालबालिकाहरुमा आँखाको क्यान्सर अर्थात रेटिनोब्लास्टोमा देखिने गरेकोमा पछिल्लो समय तीन वर्षमुनिका बालबालिकाहरुमा वढी देखिने गरेको बताए ।

“जटिल रोग भए पनि समयमै पत्ता लगाउन सकेमा आँखाको ज्योति बचाउनका साथै रोग निको पार्न पनि सकिन्छ,” उनले भने, “यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ ।”

बालबालिकाहरुको आँखा रातो हुँदा उनीहरूमा दुखाई हुने र झगडालु पनि हुने हुन्छ तर त्यसबारे अभिभावकलाई थाहा नै हुँदैन । त्यसैले सुुरुवाती अवस्थामा नै रोग पत्ता लाग्न नसक्दा उपचार गर्न ढिला आउने गरेको डा. लिम्बुले बताए ।

यो रोग जिनका कारण बालबालिकामा देखिने गरेको छ । डा. लिम्बुका अनुसार यो रोग तामाङ् र मुस्लिम समुदायका बालबालिकामा बढी देखिएको पाइएको छ । बाल आँखा रोग विशेषज्ञहरुका अनुसार यो क्यान्सर पछिल्लो समय ९० प्रतिशतसम्म ३ वर्षमुनिका बालबालिकाहरुमा देखिने गरेको छ । नेपालमा निकै ढिला मात्र अभिभावकले बच्चाको आँखाको क्यान्सरबारे थाहा पाउने गरेको उनीहरुको भनाइ छ ।

वरिष्ठ बाल आँखा क्यान्सर रोग विशेषज्ञ डा.पुर्णीमा राजकर्णिकारका अनुसार तिलगंगा आँखा अस्पतालमा वार्षिक आँखा क्यान्सरका बिरामी करिब ६० जनासम्म आउने गरेका छन् ।

“अधिकांश आँखा क्यान्सरका बिरामी जानकारी नभएर ढिलो अस्पताल आउने गरेका छन्,” उनले भनिन् “यो रोग निकै कम मात्रामा देखिने गरेकोमा समयमा उपचार नहँदा आँखाको ज्योति गुमेर आँखै फाल्नुपर्ने अवस्था आउन सक्छ ।”

विश्व स्वास्थ्य संगठनले जन्मेका १५ हजार शिशुहरुमा एक जनामा यो क्यान्सर देखिने गरेको उल्लेख छ ।

तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. रोहित शैजुले रेटिनोब्लास्टोमा जटिल रोग भए पनि समयमै पत्ता लगाउन सकेमा आँखाको ज्योति बचाउनका साथै रोग निको पार्न पनि सकिने बताए । “सुरूको अवस्थामा बालबालिका स्वस्थ्य नै देखिने गर्छन् भने विस्तारै उनीहरुको दृष्टि क्षमतामा ह्रास आइरहेको हुन्छ,” उनले भने, “रंगीन फोटोमा आँखाको नानी सेतो देखिनु अथवा दुबै आँखाको नानी उस्तै नदेखिनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु आदि यसका लक्षण रहेका छन् ।”

यस्ता लक्षण आफ्ना बालबालिकाहरुमा देखिनेबित्तिकैै तुरुन्तै आँखा चेकजाँचका लागि अस्पताल लैजानुपर्छ । कुनै पनि समस्या देखिको छैन भने पनि ६–६ महिनामा आँखा चेकजाँच गर्नुपर्छ । जसले समयमा आँखामा हुने समस्याबाट बचाउन सकिने डा. शैजु बताउँछन् ।

उपचारमा ढिलाइ हुँदै जाँदा वा उपचार नभएमा नानीमा देखिएको सेतो भाग फैलिएर विस्तारै डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रूपमा ठूलो हुँदै जान्छ । यसरी आँखा बाहिर निस्किएपछि त्यसको असर शरीरका अन्य अङ्ग जस्तै मस्तिष्क, कलेजो, बोनम्यारो आदिमा फैलिएर अरु समस्या देखिनुका साथै ज्यान नै जाने खतरा हुने आँखा क्यान्सर रोग विशेषज्ञहरुको दाबी छ ।

सरकारले बालबालिकाहरुको आँखाको क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम गनुपर्ने तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताए । विकसित देशहरुमा यस रोगबाट प्रभावित बालबालिकाको मृत्युदर तीन प्रतिशतमात्र देखिन्छ भने विकासोन्मूख देशहरुमा अस्पताल जान ढिलो भएकै कारण यस रोगले हुने मृत्युदर ३५ प्रतिशत सम्म हुने बताइन्छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments