Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ- हामीले लामो समय पार्टी एकता कसरी हुन्छ वा हुन सक्दैन भनेर एउटा खोज नै गर्‍यौँ । दुई पार्टी भित्रका साना देखि ठुला सम्म समस्या र स्वार्थलाई खोज्ने प्रयास गर्‍यौँ, पार्टी एकता गर्ने भनिएको दिन देखि हालसम्मका अबस्थाहरुलाई केलायौं । सके सम्म दुई पार्टीका केही नेताहरुका राय र उनीहरू भित्रका डरलाई अध्यन गर्‍यौ । यो खोजका क्रममा एमाले र माओवादी पार्टी एकता हुन नसक्ने १० कारण पत्ता लगाएका छौँ ।

अब छिट्टै कम्युनिष्टहरुको एउटा पार्टी बनाउने र समाजवादको स्वाद जनतालाई चखाउने वरिष्ठ देखि कनिष्ठ सम्मका नेताहरू बार बार फलाकिरहेका छन् । फलाक्दै गर्दा उनीहरूकै मनभित्र संसय छ कि कसरी हुन्छ पार्टी एकता ? यी दुई पार्टीहरूको एकतासम्म पुग्ने बाटो काठमाडौँका सडक भन्दा भयाबह छ, पुरानो बाटोबाट त्यहाँसम्म पुग्न कठिन छ, नयाँ बाटो नै तयार गर्नुपर्छ ।

मुखले बोलेजस्तै, सभामा फलाकेजस्तै सजिलो हुन्थ्यो त जतिबेला कम्युनिष्टहरुको खिचडी पाक्यो त्यति बेला नै पार्टी एकता भैसक्थ्यो । उनीहरूले जनतालाई देखाएजस्तो सजिलो हुन्थ्यो त किन कुरिन्थ्यो साइत, किन कुरिन्थ्यो समय ? पक्कै पनि चुनावभन्दा अगाडी पार्टी एकता भएको भए चुनाव पनि उनीहरूलाई अहिले भन्दा सहज र धेरै सिट प्राप्त गर्ने एउटा छुट्टै आधार बन्थ्यो ।

संयुक्त वाम पार्टी देखि समाजवाद सम्मको सपना जनतालाई देखाएर बनाइएको चुनावी गठबन्धनका कार्यकर्तामा अहिले एउटा सन्त्रास छाएको छ । दुवैजना बोलीका भर नभएका, जतिबेला जे पनि निर्णय लिन सक्ने शिर्सस्थ नेताहरुका कारण यो सन्त्रास छाउनु स्वभाभिक पनि हो । नेताहरूको ढुलमुले स्वभाव र आफ्नो फाइदाका लागी हरेक उपलब्धिलाई दाउमा राख्ने विगतको स्वभावका कारण एमाले र माओवादी पार्टी एकता नहुने प्रस्ट देखिन्छ ।

यस्ता छन् कारण
१. भारत लगाएतका देशहरूको चलखेल
खास गरी चीनको प्रत्यक्ष निगरानीमा बनाइएको बाम गठबन्धनबाट नेपालको दक्षिणी छिमेकी लगायतका केही देशहरूलाई थ्रेट बढेको छ । भर्खरै नाकाबन्दीका कारण नेपालीमा छाएको भारत विरोधी भावनात्मक असरका कारण प्रतक्ष्य रूपमा भारतले वाम गठबन्धनको विरोध गर्न नसकेपनि भित्र भित्रै यो गठबन्धनलाई तोड्न अनेक प्रयत्न गरेको छ । कुटनीतिक र राजनीतिक निकायबाट पहल गर्ने देखि लोकतान्त्रिक गठबन्धनलाई सहयोग बढाएर नदेखिने किसिमले पार्टी एकता सम्म पुग्न नसक्ने आधार तयार गरेको जानकारहरु बताउछन ।

भर्खरै मात्र अमेरिकाका परराष्ट्र मन्त्रालय हेर्ने प्रतिनिधि भारत आएर त्यहाँका केही उच्च पदस्थ नेता देखि कुटनीतिक नियोगलाई राखेर नेपालमा भएको चीनको चलखेललाई कम गर्ने र कम्युनिस्ट गठबन्धनलाई एक हुन नदिने योजना बनाएको हिन्दु निकट श्रोतले जनाएको छ ।

चीनले पछिल्लो पल्ट नेपालमा देखाएको प्रत्यक्ष राजनीतिक चाँसो र पहिले भन्दा उदार बनेको भारत, अमेरिका र युरोपले देख्न चाहेका छैनन् ।

२. दुई पार्टी भित्रकै असन्तुष्टि
कांग्रेससंग सरकारमा सांझेदार रहेको माओवादीलाई उछिट्याउन र इमानको राजनीति गर्छु भन्ने प्रचन्डको सेखी झार्न एमालेले माओवादीलाई ४० प्रतिशत सिट दियो । तर यो ४० प्रतिशत नै एमालेको लागी अहिले कार्यकर्ताले असन्तुष्टि पोख्ने सबै भन्दा ठुलो खाडल बनेको छ । यसैले गर्दा पार्टीमा लामो समय सेवा गरेका नेता कार्यकर्ताको अबमुल्यन भएको छ । त्यतिमात्र होइन एमालेका केही खेमा र उदियमान नेताहरू दुई पार्टी एक भए आफ्नो भविष्य नबन्ने भन्दै यसको खिलाफमा लागेका छन् ।

हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने नेपालका कम्युनिष्टहरु अहिले पनि हतारमा एकताको निर्णय गरिएकोमा बहस गर्न थालेका छन् । ठाउँ ठाउँबाट गठबन्धनको विरुद्वमा बागी उठेर कतिले सांकेतिक विरोध जनाइरहेका छन् भने कतिपय कार्यकर्ता कम्युनिस्ट राजनीति छाडेर लोकतान्त्रिक शक्तिहरू सँग नजिक बनेका छन् ।

कम्युनिष्टहरु एक ठाउँमा बस्न नसक्ने, साना तिना कुराहरू पचाउन नसक्ने र अलिक बढी बिद्रोही स्वभाव भएकाले पनि पार्टी एकता सम्मको यात्रा कठिन देखिन्छ । विगतले पनि कम्युनिष्टहरु बढी फुट्ने र जोडिन नसक्ने देखाएको छ ।

३. ओलीको छुद्र स्वभाव
लोडसेडिंग पनि आफूले हटाएको प्रचार गर्न लगाउने ओली आफ्नो बोलीमा काबु राख्न सक्दैनन, खास गरी सबै कामको श्रेय आफैले लिनुपर्ने तर काम भने सिन्को नभाँच्ने प्रवृतिका ओली सर्वेसर्वा मै हुँ भन्ने ठान्छन, पार्टी एकताको लागी यो प्रवृति ठुलो बाधक बन्न सक्छ । प्रचण्डसँगको भद्र सहमति केही समय अगाडी तोडेका ओलीले चुनावी कार्यक्रममा आफू हाबी हुन खोजेको र सबै श्रेय आफैले लिन खोजेको एमाओवादीका केही नेताहरूले खुलेरै भनिरहेका छन् ।

४. चुनाव अगाडिकै चलखेल
चुनावमा जित्न सक्ने र आफ्नो बाहुल्य भएको ठाउँहरूमा एमालेले आफूले छाडेन तर, माओवादीलाई भने प्रायजसो अफ्ठ्यारो र बाहुल्य कम भएको ठाउँमा स्थान दिइएको छ । ४० प्रतिशतमा मख्ख परेको माओवादीले चुनावको मुखमा यसको विरोध खुलेर गर्न सकेन तर, यसले व्यापक असन्तुष्टि जन्माएको छ । चुनाव पछि यो विषयले पनि तिक्तताको बिउ रोप्ने छ । एक पार्टी बनाउने सहमति गरिसकेपछि यस्तो हर्कत गर्नुलाई पार्टी एकता हुन नसक्ने अर्को कडीको रूपमा लिन सकिन्छ ।

यतिमात्र होइन प्रत्येक प्रदेश बाट चयन गरिने मुख्यमन्त्रीको लागी पनि एमालेले ठाउँ र नेता सुरक्षित गरेको छ र एकखालको सर्कुलर पनि गरिसकेको छ भने माओवादी भित्र अन्योलको स्थिति छ ।

५. अध्यक्ष को बन्ने भन्ने विवाद
पार्टी एकता गर्ने भनेर गठबन्धन बनाउँदा एकीकरण पश्चात् तत्कालको लागि (महाधिवेशन सम्म) पार्टी अध्यक्ष प्रचण्डलाई दिने मौखिक सहमति भएको थियो । तर एमालेका शीर्ष नेतादेखि कार्यकर्ता सम्मले अहिले केपी ओली नै अध्यक्ष बन्ने भनिरहेका छन् । पक्कै पनि हावा नचली पात हल्लिन्न माथिकै सर्कुलर अनुसार उनीहरू ओलीलाई नै अध्यक्ष बनाउने भन्ने बोलिरहेका छन् ।

तत्काल पार्टीको अध्यक्ष प्रचण्ड बन्न सकेनन् र माहौल बनाउन सकेनन् भने महाधिवेशन बाट अध्यक्ष बन्न सक्ने अवस्था न्यून छ प्रचण्डको । प्रचण्ड पावरमा रहन सकेनन् वा अध्यक्ष बन्न सकेनन् भने विगतका अनियमितता देखि उनीमाथि लगाइएका आरोपहरुलाई विपक्षीले उचाल्ने छन् र केहि न केही त अवश्य भेटिने डर छदै छ । त्यसैले पनि प्रचण्ड अध्यक्ष बन्न सकेनन् भने पार्टी एकता हुने कुरा सम्भव देखिँदैन ।

६. एक अर्काका कमजोरी
भानिन्छ नि नजिक बसेपछि धेरै आन्तरिक कमी कमजोरी थाहा हुन्छ । एमाले माओवादी जतिबेला गठबन्धन बनाइरहेका थिए त्यति बेला नै अन्य कुरालाई थाति राखेर पार्टी एकीकरण गरेका भए सबै कुरा साम्य हुन्थ्यो तर, एकीकरण गर्ने भनेर नजिकिएपछि लामो समयसम्म सँगै हुँदा एक अर्काका कमजोरी र त्रुटिहरु एक अर्कालाई थाहा हुँदा केही असन्तुष्टिहरुले स्थान जमाउन थालेका छन् । जस्तै केपी ओली हाबी हुन खोज्नु, पार्टी एकिकरणको लागि गरिएका सम्झौताहरु लागु हुन्नन् कि भन्ने संसय बढ्नु र विगत देखि एक अर्काले पालेका तिक्तताले स्थान जमाउनु जस्ता कुराहरूले खेल्न सक्छन् ।

७. कार्यकारी राष्ट्रपतिको विवाद
पछिल्लो पल्ट माओवादी केन्द्र कार्यकारी राष्ट्रपतिको मुद्दामा फर्केको उद्घोष गरेका प्रचण्डलाई यति बेला एमालेले धोका दिन्छ कि भन्ने तनावमा छन् । एमालेले पहिले पनि माओवादीको कार्यकारी राष्ट्रपतिको प्रस्तावलाई नकारेको थियो भने गठबन्धन बनिसकेपछि पनि कार्यकारी राष्ट्रपतिको मुद्दा अहिलेलाई अंगाल्न नसकिने बताउँदै आएकोछ ।

यधपी गठबन्धन बनाउने समयमा कार्यकारी राष्ट्रपतिको मुद्दालाई दुवै पार्टीले अगाडी बढाउने भन्ने मौखिक सहमति भएको जानकारहरु बताउँछन ।

माओवादीले संविधान सभा निर्वाचनमा पनि कार्यकारी राष्ट्रपतिको एजेन्डालाई आत्मसाथ गरेको, संविधान बनाउने क्रममा भने अल्पमतमा परेको थियो । संविधान निर्माण पछाडि आफूहरूले कार्यकारी राष्ट्रपतिको एजेन्डा नछोडेको प्रचण्डले बताउँदै आएका छन् ।

८. १० वर्षे जनयुद्धको परिभाषा
एमाले र माओवादीका शिर्षस्थ नेताहरूले पार्टी एकतालाई टुङ्गो लगाउने भनेर गरिएको पहल पहिलो गासमै ढुङ्गा जस्तै भएको थियो । १० वर्षे जनयुद्धलाई के भनेर सम्बोधन गर्ने भन्ने विषयमै मत बाझिएको थियो । पार्टीको दस्ताबेजमा माओवादीको १० वर्षे जनयुद्धलाई के भनेर सम्बोधन गर्ने भन्ने विषयमा प्रवेश गर्दा गर्दै एमाले नेताहरूले सामान्य आन्दोलनको रूपमा उल्लेख गर्ने भनेपछि माओवादीले असन्तुष्टि जनाएको थियो ।

माओवादीले भने १० वर्षे जनयुद्ध नै राख्नुपर्ने अडान लिएको छ । खासगरी एमालेले १० वर्षे जनयुद्धको अबमुल्यन गर्न खोजेको माओवादीका केही नेताको आरोप छ ।

९. ओलीको पछिल्लो ब्याबहारले प्रचण्डमाथि परेको दबाब
हामी नेपाली समाजमा एक अर्काका परिपुरक बनेर बस्छौं, यहाँ मर्दा पर्दा बैरीले त साथ दिन्छ सहयात्रीको त कुरै छाडौं । अर्काले के भन्ला भनेर पनि मलामी बन्ने परिपार्टी छ हाम्रो समाजमा ।

स्वर्गीय प्रकाश दाहालको मृत्युपछि झापामा सँगै रहेका ओलीले प्रचण्डलाई काठमाडौँ पठाउँदा एक्लै पठाए, त्यो दिनका चुनावी सभालाई पनि स्थगित गरेनन । एक घन्टामा हेलिकप्टर उडाएर २ वटा सभा भ्याउन सक्ने ओली कमसेकम काठमाडौं आएर फर्कन सक्दैनन् भन्ने सवाल नै हुँदैन । यही विषयलाई लिएर प्रचण्ड निकट केही नेताहरू र आफन्तहरुको ठुलै दबाब खेपिरहेका छन् प्रचण्डले । जिउँदाको जन्ती मर्दाको मलामी हुन नसक्ने पनि सहयात्री बन्न सक्छ र भन्ने प्रश्नले स्वयम् प्रचण्डलाई झक्झकाएको छ ।

यो घटना पछि पहिले जस्तो सम्पर्क कम भएको र सँगै बसेर योजना पनि नबनाएको प्रचण्ड निकट श्रोतले जनाएको छ ।

त्यतिमात्र होइन प्रचन्डले चितवनमा मदन भण्डारीको सपना पुरा गर्छु भनेपछि ओलीले १७ हजार सहिदको कुरा पनि ननिकालेको, र आफ्ना मनगढ़ंते कुरा मात्र गर्दै हिडेकाले सम्बन्धमा केही तिक्तता आएको बुझ्न सकिन्छ ।

१०. चुनावमा देखिएका असन्तुष्टि
केही महिना अगाडी सम्म एक अर्काको खरो विरोध गर्ने एमाले माओवादी एकाएक गठबन्धन बनेपछि माथिल्लो स्तरका नेताले हिजोको गाली गलौज र विरोध, स्थानीय चुनावमा भएका एक अर्काका हर्कत बाध्यताले बिर्से पनि तल्लो तहमा भने यसको असर गहिरो छ । बर्षौ पहिले भएको बाँदरमुडे घटना त मान्छेलाई ताजै छ भने केही महिना मात्र बितेका ताजा घटना कसरी बिर्सन सक्छन् ?

खास गरी नेपालका ग्रामीण छेत्रको राजनीति फरक शैलीको हुन्छ, २००७ सालका घटनाले अहिले सम्म पानी बाराबार गरेका थुप्रै घटनाहरू छन् भने अस्ति भर्खरको आलो घाउ र आलो आलोचना कसरी बिर्सन सक्छन् र ?

माथिल्लो तहमा जसरी सहमति भए पनि दुई पार्टीले गठबन्धन बनाएपनि कार्यकर्ताबीच भावनात्मक एकता भने हुन सकेको छैन । एमालेको उम्मेदवार बनेको ठाउँमा माओवादीको केही खेमा असहयोगी बनेका छन् भने माओवादीको उम्मेदवार बनेका केही स्थानमा एमालेले खुलेर सहयोग गर्न नसकेका घटना बाहिर आइरहेका छन् ।

यी र यस्ता थुप्रै लक्षणका कारण एमाले माओवादी पार्टी एकता हुन नसक्ने देखिन्छ । दुनियामा असम्भव भन्ने त धेरै चिज छैनन्, खरो इच्छा शक्ति र जनताप्रति उत्तरदायी बन्ने हो भने यी सबै मुद्दालाई व्यवस्थापन गरेर एकता गर्न सकिन्छ तर, दुवै पार्टीका नेतामा त्यो इमान्दारिता, उत्तरदायित्त्व बोध, र दृढ अठोठ नभएको पाइन्छ । (साभारः हिमाल पोष्ट)

तपाईको प्रतिक्रिया