काठ्माडौं, २५ बैशाख । अन्डालाई पौस्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ए, बी टु, बी फाइभ, बी सिक्स, बी टुवेल, भिटामिन डी, ई, के, क्याल्सियम, जिङ्क, ल्युटिन, ओमेगा थ्री, फोस्फरस, आइरन, सेलेनम आदि पाइन्छ । मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका लागि त दैनिक अन्डाको प्रयोगलाई झनै महत्त्वपूर्ण मानिन्छ । तर अन्डा मानव जीवनका लागि जति आवश्यक र महत्त्वपूर्ण छ, यसको सही र वैज्ञानिक प्रयोग गर्न नसके त्यत्तिकै हानिकारक र घातक पनि छ ।
बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, बिरामीलाई अन्डा खुवाइन्छ । तर हामीले खाने अन्डाको गुणस्तर कस्तो छ भन्ने बारेमा चासो दिएका छैनौँ । हामीले खाने अन्डा कुन मितिमा उत्पादन भएको हो र कहिलेसम्म खान मिल्छ भन्ने कुराको जानकारी अन्डा उत्पादक वा वितरकले पनि जानकारी दिने गरेका छैनन् ।
जब तरकारी बिग्रन्छ, मासु बिग्रन्छ, चामल र पीठो बिग्रन्छ भने अन्डा पनि अवश्य नै बिग्रन्छ । कुनै पनि सामानको उत्पादन मिति, उपभोग्य मिति र शुल्क तोकिएको हुन्छ । तर हामीले आम बजारमा पाउने अन्डामा यसबारे कुनै कुरा उल्लेख गरिएको हुँदैन ।
हामी सामान्य पसलमा जाँदा पनि त्यहाँ क्रेटमाथि क्रेट राखेर अन्डाको बिक्री गर्न राखिएको हुन्छ । तर उचित तापक्रम (कुल चेन मेन्टेन)मा नराखिएको अन्डा र मिति गुज्रिएका अन्डाले फाइदाभन्दा बढी बेफाइदा गर्न सक्छ ।
अहिले बजारमा पाइने सबैजसो अन्डामा उत्पादन मिति र उपभोग्य मिति राखिएको हुँदैन । जसको कारण उपभोक्ताले कहिलेसम्म अन्डा खाइसक्नुपर्ने हो भन्ने कुराको जानकारी नै पाएका हुँदैनन् ।
त्यति मात्रै होइन, अन्डाको ग्रेडिङ गरी मूल्य तोक्नुपर्ने विषय र सही तापक्रममा अन्डा राख्नुपर्ने विषयबारे पनि जानकारी छैन । यस कारण हामीले सबै अन्डालाई एउटै मूल्य तिर्नुपर्ने अवस्था छ भने हामीले खाइरहेको अन्डा स्वस्थ छ कि छैन भनेर जान्ने अवस्था पनि छैन ।
अन्डाको ढुवानी तथा भण्डारण मापदण्ड नभएको पनि होइन । सरकारले आजभन्दा साढे ४ वर्ष पहिला अर्थात २०७१ साल असोज २६ गते पशु सेवा विभागबाट ‘अन्डा ढुवानी तथा भण्डारण मापदण्ड–२०७१’ स्वीकृत गरेको थियो । तर मापदण्डमा तोकेअनुसार अन्डाको भण्डारण, ढुवानी तथा बिक्री वितरण भएको पाइँदैन ।
अन्डाको उपभोगबारे के भन्छ विश्व स्वास्थ्य सङ्गठन र एफडीए ?
विश्व स्वास्थ्य सङ्गठन भन्छ, ‘अन्डालाई उत्पादन भएको मितिले २१ दिनभित्र खाइसक्नुपर्छ ।’ अनि २१ दिनभित्र खाने अन्डालाई पनि कम्तीमा ४ देखि बढीमा १८ डिग्री सेन्टिग्रेड तापक्रममा बाकसभित्र फ्रिजमा राख्नुपर्छ । त्यस्तै मानव स्वास्थ्यमा काम गर्ने अर्को सम्मानित संस्था एफडीएले पनि अन्डालाई १० देखि १३ डिग्री सेल्सियस तापक्रममा राखेर उत्पादन मितिले अधिकतम २८ दिनमा खाइसक्नुपर्ने भनेको छ ।
तर अहिले बजारमा पाइने अन्डा न उचित तापक्रममा राखिएको छ न अन्डा प्रयोग गर्ने मितिको बारेमा नै उल्लेख भएको हुन्छ । पशु स्वास्थ्यमा काम गर्ने एक सरकारी डाक्टरका अनुसार नेपालमा प्रयोग गरिने अधिकांश अन्डा मापदण्डविपरीत अर्थात प्रयोग गर्न अनुपयुक्त छन् ।
मापदण्डविपरीतका अन्डा खाँदा अन्डाबाट लाग्ने विभिन्न रोग मानिसमा सर्न सक्ने उनको भनाइ छ । अन्डामा यी २५ थरीका एसपीएफ ९क्उभअषष्अ एबतजयनभल ँचभभ० नभएका अन्डा मात्रै खान योग्य हुन्छन् ।
यी २५ वटा सूक्ष्मजीवबाट मुक्त भएको अन्डा मात्रै खानका लागि योग्य हुने नेपाल सरकारको अन्डा ढुवानी तथा भण्डारण मापदण्डमा उल्लेख छ ।
सेवन गर्ने अन्डाको ग्रेडिङ
हामीले सेवन गर्ने अन्डालाई सरकारी मापदण्डमा क, ख र ग वर्गमा विभाजन गर्ने भनिएको छ ।
(क) वर्गको अन्डा
सफा भएको, नचर्केको, चिप्लो सतह भएको, साधारण आकार भएको ९अर्थात एक छेउ अर्को छेउभन्दा ठूलो भएको०, ५५ देखि ६५ ग्राम भएको र पहेँलो भाग एउटा मात्र भएको अन्डालाई ‘क’ समूहमा राखिएको छ । यस्तो अन्डालाई राम्रो गुणस्तर भएको मानिन्छ ।
(ख)समूहको अन्डा
‘ख’ समूह तथा मध्यम गुणस्तर भएको अन्डा सफा भए तापनि थोरै मात्रामा माटो वा फोहर टाँसिएको, नचर्केको, खस्रो सतह हुन सक्ने, साह्रो, साधारण आकार ९एक छेउ अर्को छेउभन्दा ठूलो०, ४२ देखि ५५ ग्रामभन्दा बढी र पहेँलो भाग एउटा मात्र भएको अन्डालाई ‘ख’ समूहमा राखिएको छ । यसलाई मध्यम गुणस्तरको अन्डा मानिएको छ ।
(ग) समूहको अन्डा
सफा नभएको, फोहोर तथा रगत टाँसिएको, चर्केको, खस्रो सतह भएको, नरम हुन सक्ने, आकार अलि असाधारण, ४२ ग्रामभन्दा कम भएको र पहेँलो भाग नहुने वा सानो हुने वा दुईवटा भएको अन्डालाई समूह ‘ग’ तथा कम गुणस्तर भएको समूहमा राखिएको छ । यसरी अन्डाको मापदण्ड तोकिए पनि बजारमा एउटै मूल्यमा अन्डा बिक्री हुँदै आएको छ ।
अन्डा बजारमा ल्याउनुभन्दा पहिला अन्डा उत्पादन गर्ने फार्मको नाम तथा ठेगाना, अन्डाको किसिम, अन्डा उत्पादन भएको मिति र प्रयोग गर्ने मिति लेखिएको हुनुपर्छ । यस्तै अन्डाको सङ्ख्या, परिणाम, पोका क्रेट र अन्डा प्याक गरेको मिति, स्थान र समय उल्लेख गरेको हुनुपर्ने सरकारको मापदण्डमा उल्लेख छ । तर बजारमा अन्डा ल्याउँदा यो मापदण्डमा उल्लेख गरिएको कुनै पनि कुरा कार्यान्वयन भएको छैन ।
२१ दिनमा एक्स्पायर हुने अन्डा २ महिनासम्म प्रयोगमा
इचङ्गुस्थित एक अन्डा उत्पादक किसानका अनुसार अन्डा उत्पादन भएको एक सातापछि मात्रै वितरकले उक्त अन्डा लैजान्छन् । अनि वितरकबाट खुद्रा विक्रेताका पसलमा पुग्न कम्तीमा अर्को ७ सात दिन लाग्ने गरेको छ । अनि खुद्रा व्यापारीले आफ्नो पसलबाट उपभोक्तालाई बेचेर सकाउन अर्को २ सातासम्म लाग्ने गरेको छ ।
यसरी हेर्दा एकै मात्र डिलर भए उत्पादक र उपभोक्ताको घरमा अन्डा पुग्न करिब २८ दिन लाग्ने गरेको छ । उपभोक्ताले पनि एक एक वटा नलगेर कैयौँ उपभोक्ताले एक क्रेट नै अन्डा लैजाने भएकाले त्यो सकिन पनि अर्को करिब १ महिना लाग्छ । यसरी उत्पादन भएको मितिले अन्डाको उपभोग हुँदा करिब ६० दिन लाग्ने गरेको छ ।
अन्डा बिग्रन्छ भन्ने त सबैलाई थाहा छ तर कसरी बिग्रने हो वा कस्तो चाहिँ बिग्रेको हो भन्ने धेरैलाई थाहा छैन । अन्डा हल्लियो वा फुटाउँदा गन्हायो भने मात्रै त्यस्तो अन्डालाई बिग्रेको अन्डा भनिएको छ । अन्डाको पनि एक्स्पायर मिति हुन्छ भन्ने धेरैलाई थाहा छैन र नेपालमा त्यसको प्रयोग नै भएको छैन ।
न उत्पादन र उपभोग्य मिति, न त उचित तापक्रम
ढिलोमा पनि २८ दिनमा खाइसक्नुपर्ने अन्डा ६० दिन मात्रै पुगेको छैन, नेपालमा अन्डाको भण्डारण गर्न उचित तापक्रमको पनि व्यवस्था छैन । विश्व स्वास्थ्य सङ्गठनले ४ देखि १८ डिग्री सेन्टिग्रेड तापक्रमसम्मलाई ठिकै माने पनि राम्रो तापक्रम भने १० देखि १३ डिग्री सेन्टिग्रेड भनेर एफडीएले भनेको छ । तर नेपालमा न त उत्पादकले उचित तापक्रममा राखेका छन् न त वितरकले । खुद्रा व्यापारीको कुरा गर्ने हो भने त अवस्था अझै नाजुक छ । उत्पादकलाई यति मात्रै थाहा छ कि अन्डा चिसोमा राख्नुपर्छ । तर चिसो भनेको कति तापक्रम हो, कसैले भन्न सक्दैनन् ।
बालबालिकाको मानसिक वा शारीरिक विकास र युवा वा वृद्धको शक्तिका लागि हरेक दिन अन्डा खाइन्छ । तर यो अन्डा कति स्वस्थकर छ भन्ने चाहिँ धेरैलाई थाहा नहुन पनि सक्छ । अन्डा हल्लिएन वा फुटाउँदा गन्हाएन भने त्यो अन्डालाई गुणस्तरीय अन्डा भन्ने भ्रम अहिले पनि यथावत् छ । विश्व स्वास्थ्य सङ्गठनले अधिकतम उपभोग्य समय २८ दिन र भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन कार्यालयले बनाएको मापदण्डले ३० दिन भने पनि नेपालमा दुई महिनासम्म अन्डाको उपभोग भइरहेको छ । राम्रो देखिएपछि गुणस्तरीय हुन्छ भन्ने सोच भने गलत भएको बताउँछन्, वीर अस्पतालका डाक्टर न्युच्छेमान डङ्गोल ।
अन्डामा पानी वा अन्य केही तरल पदार्थ पर्यो भने पनि बिग्रन्छ, अलिकति चर्कियो वा फुट्यो भने बिग्रन्छ, १८ डिग्री वा सोभन्दा माथिको तापक्रममा निरन्तर रह्यो भने पनि बिग्रन्छ र २८ दिन कटेपछि त झनै बिग्रन्छ । तर नेपालमा उत्पादित वा वितरित सबैजसो अन्डामा उत्पादन मिति र उपभोग्य मिति उल्लेख नगरी खुल्ला रूपमै अन्डाको विक्रीवितरण भइरहेको छ, जसको कारण अन्डा खानयोग्य छ कि छैन भनेर छुट्याउनै गाह्रो हुने गरेको छ ।
स्वस्थ र ताजा अन्डा मानव स्वास्थ्यका लागि उपयोगी त छन् तर यसको सही उत्पादन, भण्डारण, वितरण र प्रयोग भएन भने यो विषसमान पनि हुन सक्छ । अन्डाको दैनिक प्रयोग गर्नेहरुले अब अन्डा खानुभन्दा पहिले धेरै कुरा सोच्नुपर्ने भएको छ, कतै हामीले विष पो खाइरहेका छैनौँ ?
नेपाल विश्व स्वास्थ्य सङ्गठनको सदस्य राष्ट्र हो । तर यहाँ अन्डाको सन्दर्भमा ४ वर्षअगाडि मापदण्ड आए पनि त्यसको पालना भएको छैन र यो वा त्यो बाहानामा मापदण्डको कार्यान्वयन सम्भव छैन भनिरहेका छन् । जसका कारण आम उपभोक्ताले अस्वस्थ, मिति गुज्रिएका र सडेगलेका अन्डा किनेर खाइरहेका छन् र रोग किनिरहेका छन् ।
यदि ताजा र मापदण्ड मिलेको अन्डा खाएमा स्वास्थ्यका लागि राम्रो हो तर हामीले जुन तरिकाबाट अन्डा खाइरहेका छौँ, अब भने सोच्ने बेला आएको छ, कतै हामीले विष पो खाइरहेका छैनौँ ?
अन्डाको पनि एक्स्पायर डेट हुन्छ र ?
नेपालमा अन्डाको खपत धेरैजसो साना बालबालिका र वृद्धवृद्धाका लागि हुने गरेको छ । धेरैजसो घरमा क्रेट किन्दा केही सस्तो पाइने भन्दै महिना दिनका लागि एकै पटक अन्डा किन्ने गरिएको छ । किनभने उपभोक्तालाई अन्डाको डेट एक्स्पायर हुन्छ भन्ने नै थाहा छैन ।
पुरानो अन्डाले फुड प्वाइजनिङ गराउँछ
बिग्रेको वा मिति गुज्रिएको अन्डा खाएमा मानव स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ । अन्डामा जति भिटामिन र पोषणतत्व पाइन्छ, बिग्रँदा त्यति नै खतरनाक जिवाणुहरु पनि । जब अन्डा पुरानो हुन थाल्छ, तब अन्डामा साल्मोनेला भन्ने ब्याक्टेरियाको विकास हुन थाल्छ । साल्मोनेलाको मात्रा बढी भएको अन्डा खाएमा मानिसहरू गम्भीर बिरामी पनि पर्न सक्छन् । बालबालिकालाई हुने फुड प्वाइजनिङको मुख्य कारण साल्मोनेलायुक्त अन्डा नै हो भन्छन् वीर अस्पतालका डाक्टर न्युच्छेमान डङ्गोल । कतिपय पसलेले त केही सस्तो मूल्यमा चर्केको अन्डा पनि बेच्ने गरेका छन् । यस्तो चर्केको अन्डा त आधा घण्टामै बिग्रने र त्यो ज्यादै घातक हुने डङ्गोल बताउँछन् ।
अन्डाको प्रयोग धेरैजसो बालबालिका र वृद्धवृद्धाका लागि हुन्छ । तर मिति गुज्रिएको वा बिग्रिएको अन्डा खाएमा बढी असर भने बालबालिका वा वृद्धवृद्धालाई नै हुन्छ, किनकि उनीहरुको रोगसँग लड्ने प्रतिरक्षा क्षमता वयस्कको तुलनामा कमजोर हुन्छ ।
बिग्रेको अन्डा खाए के हुन्छ ?
यदि गुणस्तरीय अन्डा खाइएन भने मानव स्वास्थ्यलाई गम्भीर असर गर्न सक्छ । यसले फुड प्वाइजनिङ, झाडावान्ता हुने, ज्वरो आउने, पेट दुख्ने आदि समस्या आउन सक्छ । यसको असर तुरुन्तै नभएर १२ देखि ७२ घण्टासम्ममा देखापर्छ । तर पनि यसमा अनुगमन र नियन्त्रण हुन सकेको छैन ।
मिति राखे पनि लेबल निकालेर पुनः बजारमा बिक्री
केही राम्रा भनिएका डिपार्टमेन्टल स्टोरमा बेच्न राखिएका अन्डामा २१ दिनको उपभोग्य मिति राखिएका हुन्छन् । तर यस्ता पसलमा पनि उचित तापक्रमको व्यवस्था भने गरिएको छैन । अनि के २१ दिनभित्र यी अन्डा बिकेनन् भने नष्ट गरिन्छ त ? मनमैजुका एक अन्डा बिक्रेता भन्छन्, ‘लेबल निकालेर पुनः बजारमा बेच्न लगिन्छ ।’
अन्डा मिसावटमुक्त गुणस्तरीय खाद्य पदार्थ त हो तर यसको सही उपभोग भने गर्न जान्नुपर्छ । राम्रो वा सफा देख्दैमा अन्डा खाए यसले गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । यदि सरकार, उत्पादक, वितरक र उपभोक्ताले अन्डाको गुणस्तरमा ध्यान नदिने र अहिलेकै अवस्थामा छोडिदिने हो भने भोलि यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।रातोपाटीबाट साभार






