Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

बिराटनगर-मुख्यमन्त्रीको आकांक्षीको चर्चा केन्द्रियस्तरमा एमाले प्रदेश नम्बर एकका प्रमुख एवं सचिव भीम आचार्य र पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य शेरधन राईको छ । तर ग्राउण्डमा भने एमालेका अर्का सांसद जीवन घिमिरेको समेत चर्चा छ ।

प्रदेश एकको हिसाब किताब
प्रदेश एकको सभामा बाम गठबन्धनतर्फ एमाले, माओवादी तथा नेपाली कांग्रेससँगै संघीय समाजवादी फोरम, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले प्रतिनिधित्व गर्दैछन् । प्रदेश एकमा अटाइएका यी ६ पार्टीको गरी ९३ सांसद छन् ।

प्रदेश एक- जम्मा सांसद संख्या -९३

१. नेकपा एमाले ( प्रदेश नम्बर एक)
प्रत्यक्ष -३६
समानुपातिक -१५
जम्मा सांसद संख्या – ५१ (एकल बहुमत )

२. नेकपा माओवादी केन्द्र
प्रत्यक्ष – १६
समानुपातिक – ५
जम्मा सांसद संख्या -२१

३. नेपाली कांग्रेस
प्रत्यक्ष – ३
समानुपातिक -१३
जम्मा सांसद संख्या – १६

४. संघीय समाजवादी फोरम
प्रत्यक्ष -१
समानुपातिक – २
जम्मा सांसद संख्या -३

५. राप्रपा
प्रत्यक्ष – छैन
समानुपातिक -१
जम्मा सांसद संख्या – १

६. संघिय लोकतान्त्रिक मञ्च
प्रत्यक्ष – छैन
समानुपातिक- १
जम्मा सांसद संख्या – १

एमालेको एकल बहुमत
प्रदेश नम्बर एकमा नेकपा एमालेलाई सरकार गठन गर्न एकल बहुमत छ । कुल ९३ सांसद संख्यामध्ये ५१ जना एमालेकै भएपनि बाम गठबन्धनमा आवद्ध माओवादी केन्द्रको थप २१ सांसदको समर्थन छ ।

संविधानको धारा १६८ मा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने उल्लेख छ । प्रदेशको मुख्यमन्त्री छान्न संघीय संसदले पूर्णता पाउनुपर्दैन । राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै संसदीय दलको नेता छान्ने एमाले स्थायी कमिटी बैठकको मंगलबारको निर्णयले प्रदेश एकमा मुख्यमन्त्री चयन राष्ट्रिय सभाको निर्वाचन २४ माघपछि मात्रै हुने देखिएको छ ।

प्रदेश नम्बर एकका मुख्यमन्त्रीका दाबेदार को कस्ता ?

भीम आचार्य
धनकुटाको तेलिया ६ मा जन्मिएका ५९ बर्षीय भीम आचार्य एमाले सचिव हुन् । ०३६ सालदेखि राजनीतिमा सक्रिय आचार्य हाल एमालेको प्रदेश नम्बर एकको संयोजक समेत हुन् । सुनसरीको मधेसाका स्थायी बासिन्दा आचार्य गत २१ मंसिरको प्रदेशसभा सदस्य निर्वाचनबाट सुनसरी १ को ख बाट प्रत्यक्ष निर्वा्चित सांसद हुन् । प्रदेश नम्बर एकको मुख्यमन्त्रीको दाबेदार रहेका पूर्वमन्त्री आचार्य हाल शीर्ष नेताहरुसँगको लविङमा व्यस्त देखिन्छन् ।

प्रदेश एकको पार्टीको संयोजक रहेको हैसियतले पनि मुख्यमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक भएको आचार्य बताउँछन् ।

शेरधन राई
एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री शेरधन राई प्रदेश नम्बर एकका मुख्यमन्त्रीका दाबेदार हुन् । भोजपुरको थिदिंखामा जन्मिएका ४९ बर्षीय राई ०४४ सालदेखि राजनीतिमा सक्रिय छन् । राजनीतिक यात्राकै क्रममा ०४४ देखि ३ बर्ष भूमिगत जीवन बिताएका राईले अनेरास्ववियु संगठनमा आवद्ध भएर राजनीति सुरु गरेका हुन् ।

१० मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनको पहिलो चरणबाट भोजपुर १ को ख बाट प्रत्यक्ष निर्वा्चित सांसद राई हाल एक नम्बर प्रदेशको मुख्यमन्त्री बन्न दौडधुपमा छन् । प्रदेश नम्बर एकका एमालेका सहसंयोजक राई आफू एक नम्बर प्रदेशको संसदीय दलको नेता बन्ने दाबी गर्छन् । सर्वसम्मत संसदीय दलको नेता छान्ने प्रयास शीर्ष नेतृत्वमा भइरहेको उनले बताए । आफु दुईपटक केन्द्रिय संसदमा प्रत्यक्ष निर्वा्चित भएको तथा संसदीय समितिको सभापतिदेखि सुचना तथा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता भएर राष्ट्रिय राजनीतिमा प्रभाव जमाईसकेकाले प्रदेश एकको मुख्यमन्त्री बन्न आफू मुख्य दाबेदार रहेको उनी बताउँछन् ।

अर्का दाबेदार घिमिरे भन्छन्– अन्तिमसम्म लडिरहन्छु
जीवन घिमिरे
मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश सभा ख बाट निर्वा्चित एमाले सांसद हुन् जीवन घिमिरे । १८ माघ ०१८ मा खोटाङमा जन्मिएका घिमिरे ०३५ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रिय राजनीतिमा आइपुगेका हुन् ।

अनेरास्ववियुको जिल्ला कमिटी हुदै केन्द्रिय संगठन विभागको प्रमुख तथा युवा संघको केन्द्रिय उपाध्यक्षदेखि केन्द्रिय संगठन विभागको प्रमुख भइसकेका घिमिरे हाल एमालेको केन्द्रिय सदस्य हुन् । प्रदेश नम्बर एकको प्रशिक्षण विभागको प्रमुख समेत रहेका घिमिरे, आचार्य र राई केन्द्रिय राजनीति तथा राजकीय ओहोदामा बसिसकेकाले तल झर्नु हुन्नथ्यो भन्छन् । घिमिरेले भने, ‘प्रदेश एकको मुख्यमन्त्रीमा मेरो दाबेदारी पहिलो हुनुपर्छ । अरु साथीहरुले पटक पटक अवसर पाएका छन् । कुनैबेला भीम आचार्य र म अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य सँगै थियौँ । शेरधन राई अहिले मेरो नेता हुनुहुन्छ, कुनै बेला लामो कालखण्ड म उहाँको नेता थिएँ । राजनीतिमा तलमाथी भईरहन्छ ।’ पार्टीले नै संसदीय दलको नेता नतोकी प्रदेश सभाले तोक्ने अवस्था आएसम्म आफू संसदीय दलको नेताका लागि दाबी प्रस्तुत गर्ने उनले बताए ।

एमालेभित्र माधव नेपाल खेमाका मानिने घिमिरे आफूले मतदातादेखि शीर्ष नेताहरुसँग छलफल गरिरहेको बताउछन् ।

कुन दलको नेता को ?
प्रदेश नम्बर एकमा मुख्यमन्त्री पाउन लागेको एमालेबाट संसदीय दलको नेता चयन प्रकृया २४ गतेको राष्ट्रिय सभा निर्वाचनपछि मात्रै अघि बढ्ने भएको छ । एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै प्रदेशको संसदीय दलको नेता चयन प्रकृया अघि बढाउने निर्णय गरेको छ । एमाले स्रोतका अनुसार प्रदेश एकमा नेता त्रय भीम आचार्य, शेरधन राई र जीवन घिमिरेको चर्चा भएपनि आचार्य र राईमध्ये एकजना संसदीय दलको नेता बन्ने प्रवल सम्भावना छ ।

माओवादी, कांग्रेस तथा संघीय समाजवादी भित्र भने दलको नेता को हुने भन्ने चर्चा छैन । कांग्रेसका एक नेताले आफूहरुको नेतृत्वमा सरकार नबन्ने भएकाले राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै प्रदेश नम्बर एकमा को संसदीय दलको नेता बन्ने टुंगो लाग्ने बताए । प्रदेश एकमा माओवादीको २१, कांग्रेस १६, संघीय समाजवादी फोरम नेपालको ३ सांसद छन् । राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भने एकरएक जना सांसदको मात्र प्रतिनिधित्व रहेकाले सो दलमा संसदीय दलको नेता निर्विरोध चुनिनेछन् । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया