Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

रविन भट्टराई

बिर्तामोड, १६ बैशाख ।   झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोलामा निर्माण गरिएको पक्की पुल उद्घाटन नै भएको छैन। तर पुल भने भत्कन थालेको छ। निर्माण सुरु भएको एक दशकपछि गत वर्ष पुल सञ्चालनमा आएको थियो। उद्घाटन गर्न बाँकी छँदै सञ्चालनमा आएको पुल एक वर्षमै चर्कन र भत्कन थालेपछि ठेकेदारको काम र निर्माण सामग्रीको गुणस्तरीयतामा प्रश्न उठेको छ।

बिर्तामोडबाट अर्जुनधारा, शनिश्चरे, खुदुनाबारी हुँदै इलाम जोड्ने वैकल्पिक सडकखण्डअन्तर्गत अर्जुनधारा नगरपालिका–१ र २ नम्बर वडाको सीमा भएर बग्ने टाङटिङ खोलामा बिर्तामोडको सरोज निर्माण सेवाले पुल निर्माण गरेको हो।

ठेकेदारले दुई चरणमा बनाएको ५८ मिटर लामो पुल उद्घाटनअघि नै भत्किन थालेपछि ठेकेदारको काम र निर्माण सामग्रीको गुणस्तरमानै प्रश्न उठेको वडा नम्बर २ का अध्यक्ष रघुनाथ खनालले बताए। ‘लामो समयपछि निर्माण सकियो। उद्घाटन गर्न बाँकी नै छ। तर पुल चर्कन र भत्कन थालेको छ,’ उनले भने।

पहिलो चरणमा १ करोड ४५ लाख रुपैयाँमा ९ स्पान (पिल्लर) को पुल बनेको र दोस्रो चरणमा २ करोड २६ लाख २४ हजारमा बाँकी रहेको ४ स्पान गरी जम्मा १४ स्पानको पुल निर्माण भएकोे सडक डिभिजन कार्यालय दमकले जनाएको छ। ठेकेदारले सम्झौता अनुरूप सबै काम अझै सकेको छैन। पुलको दायाँ र बायाँ ५०÷५० मिटर कालोपत्रे गर्न अझै बाँकी छ। ठेकेदारले बाँकी काम गर्ने सुरसार नगरेको वडाध्यक्ष खनालको भनाइ छ।

ठेकेदार सरोज निर्माण सेवाले पुलको पश्चिमपट्टीको भाग ६÷७ वर्षअघि नै निर्माण भएकाले जोडिएको ठाउँमा केही समस्या देखिएको सडक डिभिजन कार्यालयलाई जानकारी गराएको छ। तर संरक्षणको जिम्मा सडक विभागले लिनुपर्ने बताउँदै ठेकेदार मर्मतबाट पन्छँदै आएको स्थानीयको आरोप छ। सम्झौताअनुरूप बाँकी काममा भने अर्जुनधारा–खुदुनाबारी सडक निर्माण भइरहेकाले त्यसै योजनासँग सहकार्य गर्ने ठेकेदारले आफूलाई जानकारी दिएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर दीपेन्द्र चौधरीले बताए।

इन्जिनियर चौधरीले पुल चर्किएको र भत्किएकोबारे पुलको स्थलगत अनुगमन गरेर आवश्यक कदम चालिने बताए। ठेकेदार कम्पनीको लापरवाही र सडक डिभिजन कार्यालयको बेवास्ताका कारण धरापमा परेको गुनासो बढेको छ। ‘हामीले पुल बनेपछि बर्खामा पनि आवतजावतमा सहज होला भन्ने आशा लिएका थियौं,’ स्थानीय हेमकुमार गौतमले भने, ‘तर १० वर्ष लगाएर बनेको पुल उद्घाटन नै नभई भत्कन थालेपछि स्थानीय निराश बनेका छन्।’ उनले पुल निर्माणमा ढिलाइ र लापरवाही गर्ने ठेकेदारमाथि कारवाही हुनु पर्ने माग पनि गरे।अन्नपूर्णपोष्टबाट साभार

तपाईको प्रतिक्रिया