Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठ्माडौं, १२ बैशाख ।  खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकका रुपमा अनुमति दिएको छ।

राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति पाएको हो।

डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध हुने कम्पनीको भनाइ छ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो ।

सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत छ। राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स पाएपछि सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत भएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले ग्रामिण भेगमा बिजुलीको महसुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता खल्तीले अन्त्य गरेको बताए।

बैंकको यो अनुमतिले थप उर्जा प्रदान गरेका बताउँदै मोदीले देशका हरेक कुनाबाट सरकारको बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने दाबी गरे।

कम्पनीका अनुसार नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार नेपालमा मोबाईल सेवाको पहूँच १३२ प्रतिशत बढी छ। ५९ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छ्न् ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ६४ लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र साढे आठ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् ।

तथापि, विश्व बैंकले सन् २०१७ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार ४५ प्रतिशत नेपालीहरुको मात्रै बैंकमा खाता छ । यस्तो अवस्थामा खल्तीले बैंकिङ पहूँच बाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न कम्पनीको भनाइ छ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।

साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ ।हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख बढी छन्।सेतोपाटी

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments