Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, २ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ भएकी छन्।
बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ।

परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी तीव्र पारेका छन्। यद्यपी उनको भ्रमणको आधिकारिक कार्यक्रम सार्वजनिक गरिएको छैन।चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ। सियानमा राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्नेछन्।

सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जाने छन्। त्यहाँ उनी बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछन्।

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

‘दुई राष्ट्रपतिको भेटमा तीन वर्षअघि भएको नेपाल(चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ,’ मन्त्री ज्ञवालीले भने।

यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए। उक्त प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्नेछ।

वाणिज्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकलमा हस्ताक्षर गर्नेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइसकेको जानकारी दिए।

राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङनजिकै सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने तय भएको छ।

बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बत आउनेछन्। तिब्बत भ्रमण सकेर उनी वैशाख १९ गते स्वदेश पुग्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments