Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

एजेन्सी, ६ चैत्र । चीनमा पहिलोपटक एक चिकित्सकले सफलतापूर्वक फाइभ–जी प्रविधिमार्फत ३ हजार किलोमिटर टाढा रहेका बिरामीको रिमोट सर्जरी गरेको डेलीमेलले जनाएको छ ।

पार्किन्सन्स रोग भएका सो बिरामीको मस्तिष्कमा डाक्टरले तीन हजार किमी टाढाबाट रिमोटको मद्दतले ‘डिप ब्रेन स्टिम्युलेसन (डिबीएस) इम्प्लान्ट’ अर्थात दिमागी झट्का नियन्त्रण गरी शान्त पार्ने उपकरण प्रत्यारोपण गरेको संचार एजेन्सी डेलीमेलले जनाएको छ ।

बेइजिङसिथत पिपुल्स लिबरेसन आर्मी जेनेरल हस्पिटलका सर्जन डाक्टर लिङ जिपेइले गरेको सो शल्यक्रियाबारे चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले खबर गरेको हो । डाक्टर लिङका अनुसार यस नयाँ प्रविधिमार्फत गरिएको रिमोट सर्जरीले ग्रामीण क्षेत्रका बिरामीको उपचारलाई धेरै सहज बनाइदिनेछ ।

सर्जिकल रोबोटको मद्दतबाट लिङले मस्तिष्कको गहिराइमा स्टीमुलेसन प्रत्यारोपण गरेको बताइएको छ जसले पार्किन्सन्सका बिरामीलाई पूर्ण रुपमा निको पार्न नसकेपनि धेरै राहत दिलाउन सक्ने बताइन्छ । शनिबार गरिएको सो शल्यक्रिया तीन घण्टामा सम्पन्न भएको बताइएको छ भने सर्जरीपछि बिरामीले आफूलाई आराम महसुस भएको समेत बताएका थिए । डाक्टर लिङले आफू बसेको ठाउँबाट मोबाइल इन्टरनेटको मद्दतले प्रत्यक्ष रुपमा तीन हजार किमी टाढाका उपकरण नियन्त्रण र सञ्चालन गरि शल्यक्रिया गरेको बताइएको छ ।

यसका लागि हुवावेको फाइभ–जी प्रविधि र चाइना मोबाइल नेटवर्कको प्रयोग गरिएको जानकारी दिइएको छ । यो सफलताले चिनियाँ प्राविधि तथा चिकित्सा क्षेत्रलाई ऐतिहासिक उपलब्धि दिलाएको बताइएको छ ।

डाक्टर लिङ त्यसबेला हैनन टापुस्थित सान्या सहरमा थिए भने शल्यक्रिया उत्तरतर्फ बेइजिङमा भएको हो । उनका अनुसार फाइभ–जी प्रविधिले भिडियो लोड नहुने र रिमोट कन्ट्रोलमा ढिलाइ हुने समस्या समाधान गरेकाले नै सो शल्यक्रिया सम्भव भएको हो । यस्तोमा शल्यक्रिया गर्दैगर्दा बिरामी तीन हजार किमी टाढा रहेको समेत अनुभूति नभएको डाक्टर लिङ बताउँछन् । यसअघि फोर–जी प्रविधि यिनै समस्याका कारण प्रयोगका लागि योग्य मानिएको थिएन । यस्तोमा अब बिरामीहरुले उपचारका लागि ठूलाठूला सहरसम्म धाउनुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको बताइएको छ ।

न्यु चाइना टीभीले युट्युबमा पोस्ट गरेको एउटा भिडियोमा डाक्टर लिङले फाइभ–जी प्रविधिबाट भविष्यमा पनि चिकित्सा क्षेत्रले धेरै फाइदा उठाउन सक्नेबारे आशावादी रहेको बताएका हुन् र यस किसिमको सफलतापछि बिरामीले स्थानीय अस्पतालमै उपचार गराउन सक्ने उनले बताए । हाल विश्वव्यापी रुपमा पार्किन्सन्सका १ करोड भन्दा धेरै बिरामी छन् । गत हप्ता पनि सिजिटिएनले फाइभ–जी प्रविधिकै मद्दतले कलेजोको शल्यक्रिया गरिएको खबर गरेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments