Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

राँझा, ५ चैत । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।

यसैगरी मालपोत कार्यालय बाँकेबाट हाल हुलाक कार्यालय बाँकेमा सरुवा हुनुभएका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। उनीहरु जग्गा कीर्तेमा मात्र नभई शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको आशङ्का देखिएकाले केही दिनभित्रै सबै तथ्य बाहिर आउने उनले बताए।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।

सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए। रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments