Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

सन्तोष न्यौपाने
काठमाडौं, ५ चैत । लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादन लगायतबजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ। सोमबार संघीय संसद्बाट पारित भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ ले जुन कम्पनीले उत्पादन अनुमति लिने हो ऊ आफैंले कम्तीमा मुख्य वस्तु उत्पादन गर्नुपर्ने र सहायक उत्पादन तथा बजारीकरण र वितरणमात्रै अन्य कम्पनीलाई दिन सक्ने व्यवस्था गरेको छ।

यो कानुन लागु भएपछि अर्को उद्योगलाई उत्पादन गर्न दिएका झन्डै आधा दर्जन कम्पनीलाई असर पर्नेछ। कानुन पारित भएपछि मुख्य उत्पादन आफैं गर्नुपर्नेछ। यो कानुनको बारेमा व्यवसायीबीच मतभिन्नता देखिएको छ। सूर्य नेपाल कम्पनीका सचिव प्रेम अर्यालले यो कानुनले मुख्य लगानीकर्तालाई निरुत्साहित गर्ने जिकिर गरे। ‘यो प्रावधानले अहिले करारमा चलिरहेका बहुराष्ट्रिय कम्पनीका उत्पादन बन्द हुनेछन्,’ उनले भने, ‘यसरी बहुराष्ट्रिय कम्पनीका उत्पादन बन्द भएमा नराम्रो सन्देश जानेछ।’

उत्पादनको जिम्मा अरुलाई करारमा दिएर व्यापार मात्र गर्ने प्रवृत्ति रोक्ने विधेयकको लक्ष्य छ ।

विधेयकमा ‘विदेशी लगानी भएका उद्योगले त्यस्तो उद्योगको उत्पादनको मुख्य उत्पादनबाहेक आफ्नो उत्पादनको कुनै भाग वा उद्योगलाई आवश्यक पर्ने सहायक वस्तु वा सेवा अन्य उद्योगसँग करार गरी उत्पादन गर्न सक्नेछ’ भन्ने उल्लेख छ। मुख्य उत्पादक आफैंले कम्तीमा मुख्य उत्पादन आफैं गर्नुपर्छ भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए। यो प्रावधानले विदेशी मुख्य लगानीकर्तालाई निरुत्साहित नगर्ने उनले दाबी गरे। विदेशी कम्पनी नेपालमा आउने तर आफैं उत्पादन नगरेर अन्य काममा व्यस्त हुने देखिएकाले यो प्रावधान ल्याइएको मन्त्रालयको भनाइ छ।

यो प्रावधानले विदेशी कम्पनीले व्यापार र बजारीकरण मात्र गर्ने प्रवृत्ति कम गर्ने केही व्यवसायीको भनाइ छ। यो चलन विश्वव्यापी भएकाले विवाद गर्नुपर्ने कारण नदेखिने उनीहरुले बताए। ‘लगानीकर्ताले कम्पनीमा प्राइमरी वस्तु आफैं उत्पादन गर्नुपर्छ,’ नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘सबै उत्पादनलाई करारमा मात्र दिने हो भने व्यापारमात्र गर्ने प्रवृत्ति बढ्छ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि मुख्य वस्तु लगानीकर्ता आफैंले उत्पादन गर्नु पर्ने बताउँछन्। ‘सानो रुपमा भए पनि मुख्य वस्तुको उत्पादन आफैं गर्नु राम्रो हो,’ मुरारकाले भने, ‘अन्य सहायक उत्पादन करारमा दिँदा अरुले पनि काम पाउँछन्।’ यो विधेयक आसन्न लगानी सम्मेलनलाई लक्षित गरी ल्याइएको हो। विदेशी लगानीकर्तालाई आकर्षित गर्न विभिन्न प्रावधान र सुविधा विधेयकमा समेटिएको मन्त्रालयले जनाएको छ।

नागरिक

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments