Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

झापा, १२ मंसिर २०८३ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान संचालन भइरहेका बेला झापामा मंसिर महिनाको दुई साता नबित्दै ६ जना महिला र बालिका यौन अपराधको शिकार भएका छन् ।

एकातिर लैङ्गिक हिंसाविरुद्ध बिभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् भने अर्कोतिर महिलामाथि हिंसाका घटना अझ बढ्दै गएको हो । जसबाट लंैङ्गिक हिंसाविरुद्धको अभियानको प्रभावकारिता र झापा प्रहरीको सक्रियतामाथि प्रश्न चिन्ह खडा भएको छ ।

मंसिर महिनाको करिव दुई सातामा यौन अपराधको शिकार हुनेहरुमा तीन नाबालिका र तीन महिला रहेका छन् ।
गएराति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नं ३ सात नम्वर चोकमा एकसाथ नन्द भाइबुहारीमाथि जबर्जस्ती करणी भएको छ । कनकाई नगरपालिका बस्ने हरिबहादुर (परिवर्तित नाम) की १९ वर्षकी छोरी रमला (परिवर्तित नाम) र हरिबहादुरकी बुहारी १७ वर्षकी सरला(परिवर्तित नाम) लाई बुद्धशान्ति-३ वस्ने बर्ष २९ का मिलन खतिवडा र सोही ठाउँ बस्ने बर्ष २९ का छचेन लिम्बूले जवर्जस्ती तानेर एकान्त बाँसघारीमा लगेका थिए । मिलन खतिवडाले रमलालाई जवर्जस्ती करणी गरेको र छचेन लिम्बूले सरलालाई सोही बाँसघारीमा लगी जबर्जस्ती करणी गर्ने प्रयास गरेका थिए । तर सरला भाग्न सफल भएकी थिइन् । उनले होहल्ला गरेपश्चात् मिलन खतिवडा र छचेन लिम्बू फरार भएका छन् । ती दुई नन्द र भाइबुहारी आफन्तकहाँ गएका थिए ।

पीडितका बुबा हरिबहादुरले इलाका प्रहरी कार्यालय बुधबारेमा आज बिहान घटनाबारे मौखिक जानकारी गराएका छन् । इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी बरिष्ठ नायव निरीक्षक लक्ष्मण कटुवाल र इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी नायव निरीक्षक सुवास थापाको कमाण्डमा टोली खटिएर फरार रहेका मिलन खतिवडा र छचेन लिम्बूको खोजतलास शुरु गरेका थिए । ती दुवैलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक नकुलराज गौतमले बताए । जवर्जस्ती करणीको शिकार भएकी रमला पेट दुख्ने समस्याले बेहोस भएकी थिइन् । मेचीनगर आधारभूत अस्पताल धुलावारीमा सामान्य उपचारपश्चात उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

त्यस्तै दुई दिनअघि मेचीनगरमा ६० वर्षीया वृद्धालाई जवर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.९ लिलाबस्ती बस्ने वर्ष ४६ का तिलक श्रेष्ठ रहेका छन् ।

मंसिर १० गते दिउँसो पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा लिखित जाहेरी दिएपछि त्यहाँबाट गएको टोलीले श्रेष्ठलाई घरबाटै पक्राउ गरेको हो । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
बुधवार राति १० बजे ती वृद्धा आफ्नै घरमा सुतिरहेको अवस्थामा श्रेष्ठले जवर्जस्ती करणी गरेको आरोप लागेको हो ।

त्यस्तै शिवसताक्षीमा चार वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी-११ बस्ने ६१ वर्षीय हर्कबहादुर तिवारी रहेका छन् । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा लिखित जाहेरी दिएपछि मंसिर ७ गते राति ८ बजे तिवारीलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । बालिकाको अवस्था सामान्य रहेको छ । उनी आमासँगै घरमा रहेकी छन् ।मंसिर ६ गते बिहान ८ः३० बजे शिवसताक्षी ११ मा बालिकाको आफ्‌नै घरकोठामा तिवारीले ललाई फकाई जवर्जस्ती करणी गरेको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।
त्यस्तै बाल यौन दुर्व्यवहारको आरोपमा मेचीनगरमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर १५ बस्ने ४१ वर्षीय अरुणकुमार श्रेष्ठ रहेका छन् । मेचीनगर १५ बस्ने पीडित १२ वर्षीया नाबालिकाका बुवाले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा टोली खटिएर श्रेष्ठलाई घरबाटै पक्राउ गरेको हो । पीडित र पीडक दुवै जनालाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

मंसिर ५ गते साँझ ६ः४५ बजे श्रेष्ठले घरमा कोही नभएको मौका छोपी बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । ती बालिकाले डिप्रेसनको औषधी सेवन गर्दै आएको बुझिएको छ । श्रेष्ठ यसअघि पनि पक्राउ परेका थिए ।

त्यस्तै खेतमा लगेर नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षीका एक व्यक्ति पक्राउ परेका छन् ।
कात्तिक २९ गते राति शिवसताक्षी ५ जनता बजार पूर्वतर्फ रहेको प्रभा ताजपुरियाको खेतमा शिवसताक्षी-४ बिशुवाडुब्बा बस्ने २५ वर्षीय बनेश्वर सोरेनले सोही ठाउँ बस्ने १७ वर्षीया नाबालिकालाई डर त्रास देखाई जवरजस्ती करणी गरेका थिए ।

घटनाबारे पीडित नाबालिकाका आफन्तले मंसिर १ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी नायव निरीक्षक लालबहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिएर सोरेनलाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

तपाईको प्रतिक्रिया