काठमाडौं, १० मंसिर २०८३ । नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा ‘गुड स्ट्यान्डिङ’ प्रमाणपत्र लिन अब स्थायी लेखा नम्बर (प्यान) र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । काउन्सिलले यही मंसिर १५ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो ।
प्रमाणपत्रका निम्ति आवेदन दिँदा प्यान नम्बर र त्यसको प्रमाणपत्रसहित पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने काउन्सिलद्वारा बिहीबार (मंसिर १०) जारी सूचनामा उल्लेख छ । अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागको पत्राचारानुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको काउन्सिलले जनाएको छ ।
गुड स्ट्यान्डिङ प्रमाणपत्रका निम्ति आवेदन दिने चिकित्सकले हाल कार्यरत संस्थाबाट जारी भएको रोजगारी खुल्ने पत्र समेत पेस गर्नुपर्नेछ । विदेशमा कार्यरत चिकित्सकले भने सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी गरिएको गुड स्ट्यान्डिङ प्रमाणपत्र बुझाउनुपर्नेछ ।
सम्बन्धित अवधिमा रोजगारीमा संलग्न नभएका चिकित्सकले त्यसको व्यहोरा स्पष्ट खुलाएर निवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ ।






