काठमाडौं, १० मंसिर २०८३ । मुद्दासम्बन्धी छलफल र कानुनी परामर्श लिन पुगेकी एक महिलालाई ल फर्मभित्रैबाट पक्राउ गरेको भन्दै ६ जना कानुन व्यवसायीले नेपाल बार एसोसिएसनमा निवेदन दिएका छन् ।
सुरक्षा र सम्बद्ध व्यक्तिलाई कानुनको दायरामा ल्याउन मागसहित उनीहरूले बार एसोसिएसनमा निवेदन दिएका हुन् ।
डिल्लीबजारस्थित ‘जनचेतना ल फर्मुभित्रैबाट बुधबार (मंसिर ९) सेवाग्राही हस्तमाया बस्नेतलाई प्रहरीले पक्राउ गरेर लगेको भन्दै कानुन व्यवसायीहरूले बारमा निवेदन दिएका हुन् ।
बार महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार, अधिवक्ताहरू उद्धव के.सी, रिजन सिलवाल, अनुपराज गौतम, निर्जल थापा, प्रमिस थपलिया र निश्चल श्रेष्ठले बिहीबार निवेदन दिएका हुन् ।
ल फर्मजस्तो संवेदनशील संस्थामा अनुमति नलिए धरपकड भएकाले अफूहरूले बार एसोसिएसनमा निवेदन दिएको अधिवक्ता केसीले जानकारी दिए ।
‘मुद्दासम्बन्धी छलफल तथा कानुनी परामर्शका लागि ल फर्ममा उपस्थित भई कानुनी परामर्श तथा छलफल भइरहेको अवस्थामा सेवाग्राहीका महत्त्वपूर्ण कागजातहरू अभिलेख रहने ल फर्मजस्तो संवेदनशील संस्थामा अनुमति नलिई सिभिल प्रहरी कर्मचारी भएको परिचय दिँदै केही व्यक्तिहरू फर्ममा प्रवेश गरेर धरपकड गर्ने कार्य भयो,’ केसीले भने, ‘फर्ममा आबद्ध कानुन व्यवसायीलाई पनि अमर्यादित र असभ्य व्यवहार प्रदर्शन गरिएको छ ।’
केसीका अनुसार, बिहान करिब ११:३० बजेदेखि नै ल फर्म परिसरमा ‘रेकी’ गरिरहेका थिए । त्यसपछि दिउँसो ल फर्ममा प्रवेश गरी सेवाग्राही बस्नेतलाई कानुनी परामर्श भइरहेको अवस्थामा धरपकड गरिएको कसीले बताए ।
बारमा दिएको निवेदनमा महिला प्रहरीबिनै पक्राउ गरी लैजान खोजिएको व्यहोरा उल्लेख छ । ‘ल फर्मभित्रबाट सेवाग्राहीलाई पक्राउ गर्ने कार्य अभद्र, अमर्यादित मात्र नभइ कानुनको ठाडो उल्लंघन हो । यस्तो जबर्जस्तीविरुद्ध मानव अधिकारको रक्षा र सुरक्षाको लागि मानवअधिकार आयोग पनि उजुरी लिएर जाँदै छौँ,’ केसीले भने ।






