भद्रपुर, ९ मंसिर २०८३ । प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति र पत्रकारमाथि भइरहेको धरपकड बन्द गर्न माग गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि सामूहिक गिरफ्तारीको माग राखेर प्रदर्शन गरेको छ ।
वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार देखिएको निष्कर्ष निकाल्दै महासंघले केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘प्रस्तावित प्रेस काउन्सिल विधेयक संशोधन गर’, ‘पत्रकारिता क्षेत्रप्रति समान व्यवहार गर’, ‘पूर्ण अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर’, ‘लोककल्याणकारी विज्ञापनको व्यवस्था गर’ र ‘पत्रकारमाथिको धरपकड बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारितामाथिको अंकुश लोकतन्त्रमाथि खतराको संकेत भएकाले वर्तमान संविधानप्रदत्त स्वतन्त्र प्रेसमाथि भइरहेको सरकारी हस्तक्षेप बन्द हुनु पर्ने माग राखेर झापा जिल्लामा रहेका दुई वटा इलाका प्रशासन कार्यालयदेखि सदरमुकाम चन्द्रगढीमा रहेको जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा प्रदर्शन गरिएको हो ।
उनका अनुसार एकैसाथ देशव्यापी रूपमा पत्रकारहरूले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन् ।
केन्द्रीय कार्यक्रमअन्तर्गत सम्बन्धित जिल्लाका पत्रकार महासंघ शाखाहरूको आयोजनामा प्रदर्शन गरिएको हो । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा र पत्रकारितामैत्री कानुनी व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरिरहेको छ । सरकार भने पत्रकारका आवाज दवाउन विभिन्न बहानाबाजी गरेर धरपकड गर्ने, सरकारी विज्ञापन रोक्ने कार्यमा निरन्तर अगाडि बढिरहेको छ ।






