काठमाडौं, ९ मंसिर २०८३ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भएको छलफलपछि कार्कीलाई आईजीपीमा फर्काउनुपर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो ।
सर्वोच्चले अन्तिम फैसलामा विचार हुने विषय रहेको बताउँदै तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणबिनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबीसहित कार्कीले रिट दिएका थिए ।
मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।
सरकारबाट डा। मनोज केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश जारी हुनुपर्ने मागसहित कार्कीले सर्वोच्चमा रिट दिएका थिए ।






