झापा, ७ मंसिर २०८३ । झापाको गौरादहमा स्कुटी दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु भएको छ । शनिवार बिहान ९ः१० बजे गौरादह-५ बालुबथानस्थित भित्री सडक खण्डमा बालुबथानबाट चप्रामारीतर्फ जाँदै गरेको प्र१–०१–०१९ प २६४५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक दमक-४ बस्ने बर्ष ३३ की भावना निरौला सिग्देल र पछाडि सवार दमक-१ बस्ने बर्ष ४० की गीता अर्याल अधिकारी घाइते भएका थिए । सिग्देलको दाहिने कुम, हात र खुट्टामा सामान्य चोट लागेको थियो भने अधिकारीको टाउको र दाहिने कानमा चोट लागेको थियो ।
दुवैलाई उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो । त्यहाँबाट स्कुटी चालक सिग्देल र अधिकारीलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।
अधिकारी गम्भीर घाइते भएकीले बीएण्डसी अस्पतालले उपचार हुन नसक्ने भनी जानकारी गराएपछि उनका आफन्तले दमक लिएर गएका थिए । हिजो दिउँसो १:३५ बजे लाईफ लाईन अस्पताल दमकमा उपचारका क्रममा अधिकारीको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । सिग्देलको बीएण्डसी अस्पताल बिर्तामोडमा नर्मल वेडमा राखी उपचार भइरहेको छ ।
पाँचथर चोकमागु जन्म भई अधिकारीको इलाम साबिक फुएतप्पा वडा न ५ निवासी मातृकाप्रसाद अधिकारीसंग विवाह भएको थियो ।






