काठमाडौं, ५ मंसिर २०८३ । जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोएल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ ।
टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
यसअघि सुरुवाती दुई संस्करणको फाइनलमा खेल्दा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि जितेको हो ।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग नै फाइनलमा पराजित भएको थियो ।
गत वर्षको फाइनलदेखि यस संस्करणको कवालिफायरसम्म लुम्बिनीले लगातार तीन खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो । फाइनलमा भने स्कटिस ब्याटर मन्से चम्किएछि सुदूरपश्चिमले सबै हारको बदला लिँदै लुम्बिनीलाई पराजित गर्यो ।
सुदूरपश्चिमका लागि यसअघि प्लेअफका दुई खेलमा चल्न नसकेका मन्सेले फाइनलमा शानदार ब्याटिङ गरे ।
उनले ४९ बल खेल्दै ८ चौका र ८ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । उनी एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् भने एनपीएलमा शतक प्रहार गर्ने छैटौं खेलाडी हुन् ।
यस्तै यस सिजन शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक प्रहार गरेका थिए ।
लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे ।
लुम्बिनीका ओपनर आसिफ शेख फाइनलमा व्यक्तिगत १ रनमा आउट भए । यसै सिजन लुम्बिनीमा अनुबन्त्र भएका उनी तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एबलीडब्लु आउट भए । आसिफले रिभ्यु लिएपनि डिएआरस पछि बलले स्टम्प लागेको दिएपछि उनी आउट भए ।
छैटौं ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो बलमै सर्टलाई बोल्ड गरे । सर्टले १८ बल खेल्दै ४ चौका मदतमा २१ रन जोडे ।
३५–२ को स्थितीबाट कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । डिकवेलालई ११औं ओभरमा थरिन्दु रत्नायकेले बोल्ट गरपछि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी गरे ।
डिकवेलाले १७ बल खेल्दै १ चौका र २ छक्का मदतमा २८ रन जोडे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । रोहितले ३१ बल खेल्दै ४ चौका मदतमा ३० रन जोडे ।
त्यसपछि आएका सन्दिप जोरा ४ रन बनाएर आउट भए ।
दिलिप नाथ र अली शेखले त्यसपछि लुम्बिनीका लागि छैटौं विकेटका ३३ रनको साझेदारी गरे । लेट केमियो इनिङ्स खेलेका अली शेखले १२ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा २४ रन योगदान गरे ।
अन्तिमसम्म ब्याटिङ गरेका दिलिप नाथले ३१ बल खेल्दै ३ छक्का मदतमा अविजित ३९ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।
जर्ज मन्सेले ५४ बल खेल्दै ८ चौका र १२ छक्का मद्दतमा अविजित १२५ रन बनाए ।






