काठमाडौं, ४ मंसिर २०८३ । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादको रिट निवेदन व्यहोरा फरक परेको भन्दै दानबहादुर कार्कीले दिएको निवेदनमा सर्वोच्च अदालतले संशोधन आदेश दिएको छ ।
सर्वोच्चमा दिएको रिटको व्यहोरा त्रुटिपूर्ण रहेको भन्दै सच्याउन माग राखेर कार्कीले बिहीबार सर्वोच्चमा निवेदन दिएका थिए । रिट निवेदनको पाना नम्बर १ को दोस्रो हरफमा टाइपको भूलबाट ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसी’ भएको कार्कीको भनाइ थियो ।
उक्त वाक्यांशको सट्टा ‘बढुवा गरिएका प्रहरी महानिरीक्षक डा.मनोजकुमार केसी’ कायम हुने गरी रिट निवेदन संशोधन गर्न उनको माग थियो । उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार संशोधन आदेश दिएको हो ।
“निवेदन मागबमोजिम रिट निवेदनको पाना नं. १ को हरफ २ मा बढुवा गरिएका प्रहरी महानिरीक्षक डा.मनोजकुमार केसी” कायम हुने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १९ बमोजिम निवेदन संशोधन गरिदिएको छ । प्रस्तुत आदेशलाई उक्त निवेदनको अभिन्न अंग मानी मिसिल सामेल राख्नु,” आदेशमा उल्लेख छ ।
आदेशमा त्रुटि भएको भन्दै प्रहरी प्रधान कार्यालयले बुझ्न मानेको थिएन । सर्वोच्चबाट आदेश संशोधनपछि आजै सर्वोच्चको म्याद बुझाइएको छ ।
सर्वोच्चले यसअघि मंसिर २ गते केसीको आईजीपीमा बढुवा निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश अस्वीकार गर्दै रिट निवेदक र सरकारलाई आगामी मंसिर ७ गतेका लागि सर्वोच्चमा अन्तरिम आदेशको छलफलमा डाकेको थियो ।
उक्त प्रकरणमा सरकार र नवनियुक्त आईजीपी केसीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश समेत भएको छ ।






