Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, ३ मंसिर २०८३ । मलेसिया जाने कामदारलाई अतिरिक्त शुल्कका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बिहीबार उनीहरूलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कुँवर र रायलाई सीआईबीले बुधबार पक्राउ गरेको थियो । तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका थिए ।

तत्कालीन श्रमसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । मलेसिया र नेपाल सरकारबीच भएको सम्झौताको अपव्याख्या गरी कामदारसँग मेनपावर कम्पनीले अतिरिक्त शुल्क उठाएको र उक्त रकम आपसी गठजोडमा मलेसिया पठाइएको आरोप उनीहरूविरुद्ध छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मलेसिया जाने करिब साढे सात लाख कामदारसँग साढे दुई अर्ब रकम असुलिएको खुलेको छ । उक्त रकममध्ये एक अर्ब ६९ करोड दुई लाख २४ हजार रकम श्रम मन्त्रालयका उच्चपदस्थको सहयोगमा बैंकिङ प्रणालीबाटै मलेसिया पठाइएको भेटिएको छ ।

तपाईको प्रतिक्रिया