सान जोसे, १ मंसिर २०८३ । लागुऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्ध सार्वजनिक गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको हत्या गरिएको छ । राजधानी सान जोसेनजिकै उनीमाथि गोली प्रहार गरिएको थियो ।
प्रहरी प्रमुख राउल रिभेराका अनुसार, सोमबार सान्टो डोमिंगो डे हेरेडिया सहरमा गाडी चलाइरहेका ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए । उनले यसअघि लागुऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएको बताएका थिए ।
रोड्रिगेजले लागुऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिबीच सम्बन्ध रहेको दाबी गर्दै आएका थिए । राष्ट्रपति लौरा फर्नान्डिजले हत्याको निन्दा गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात भनेका छन् । गत वर्ष आफ्नो घर तस्करको पैसाबाट बनाइएको आरोप लगाएपछि उनले रोड्रिगेजविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।
पत्रकार संघले घटनाको शीघ्र अनुसन्धान गर्न माग गरेको छ । पछिल्ला वर्षमा कोस्टारिका लागुऔषध तस्करीको प्रमुख केन्द्र बन्दै गएको छ ।
महान्यायाधिवक्ता कार्लो डियाजले हत्याको अनुसन्धान सुरु भएको जनाएका छन् । रासस/एएफपी






