Online Bichar
शनिबार, कार्तिक २२, २०८३ | Saturday, November 7, 2026

काठमाडौं, २० कार्तिक २०८३ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी आमरण अनसनमा बसेको ९ दिन बितिसक्दा पनि सरकारले उनका जायज माग सम्बोधन नगरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले शुक्रबार जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको हुँदा उनको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी उनले उठाएका जायज माग सम्बोधन गर्न संघले सरकारसँग माग गर्दै आएको उल्लेख छ ।

तर, त्यसको सम्बोधन भएकाले शुक्रबार आफूहरूले बृहत् छलफल गरेको संघले जनाएको छ । शुक्रबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका पूर्वअध्यक्षहरू, पूर्वमहासचिवहरू, विशेषज्ञ चिकित्सक समाजका चिकित्सक, अस्पताल निर्देशकहरू, आवासीय चिकित्सकहरूलगायत अन्य चिकित्सकहरूसँग बैठक बसी बृहत छलफल भएको जानकारी दिइएको छ ।

‘नेपाल चिकित्सक संघ प्रा.डा. गोविन्द केसीले उठाउनुभएका जायज मागहरू सम्बोधन गरी अनसन अन्त्य गर्ने वातावरण मिलाउन नेपाल सरकारसंग पुनः जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले सरकारलाई उनका माग सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम दिँदै त्यसभित्र सम्बोधन नभए आन्दोनलका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।

‘उहाँका जायज मागहरू ४८ घण्टाभित्र सम्बोधन नभएमा नेपाल चिकित्सक संघ आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ र सो बाट सर्वसाधारण नागरिकमा पर्न जाने स्वास्थ्य सम्बन्धी असरको पूर्ण जिम्मेवार स्वयं नेपाल सरकार हुने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया