काठमाडौं, २० कार्तिक २०८३ । भारतीय मूलकी नित्या रमन लस एन्जलसको मेयरमा निर्वाचित हुँदै इतिहास रचेकी छन् । केरलमा जन्मिएकी रमन अमेरिकी सहर एन्जलसको पहिलो भारतीय–अमेरिकी तथा पहिलो दक्षिण एसियाली मेयर बनेकी छन् ।
लस एन्जलस काउन्टीको पछिल्लो अनौपचारिक नतिजाअनुसार रमनले चार लाख ६० हजार ७७२ मत ९५२।७० प्रतिशत० प्राप्त गरेकी छन् भने वर्तमान मेयर केरेन बासले चार लाख १३ हजार ५१९ मत ९४७।३० प्रतिशत० पाएकी छन् । बासले हार स्वीकार गर्दै रमनलाई बधाई दिएकी छन् र सत्ता हस्तान्तरण सहज बनाउने प्रतिबद्धता जनाएकी छन् ।
सन् २०२० मा लस एन्जलस सिटी काउन्सिलमा निर्वाचित रमनले चुनावी अभियानमा किफायती आवास, घरबारविहीनको समस्या, सार्वजनिक सेवामा सुधार र प्रहरी व्यवस्थापनलाई प्रमुख मुद्दा बनाएकी थिइन् ।
हार्वर्ड विश्वविद्यालयबाट स्नातक र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी ९एमआईटी०बाट सहरी योजनामा स्नातकोत्तर गरेकी रमन राजनीतिमा आउनुअघि घरबारविहीनका लागि काम गर्ने संस्था ‘सेलाह नेबरहुड होमलेस कोएलिसन’ की सहसंस्थापक थिइन् । निर्वाचित भएपछि उनले लस एन्जलसको आगामी मेयर बन्न पाउनु ठूलो सम्मान भएको बताइन् ।
रमनको भारतसँगको सम्बन्ध पारिवारिक पृष्ठभूमिमा मात्र सीमित छैन । सन् १९८१ मा केरलको थ्रिशुरमा जन्मिएकी उनले ६ वर्षको उमेरमा परिवारसँग अमेरिका बसाइँ सर्नुअघि बाल्यकालको केही समय केरलको थिरुवनन्तपुरममा बिताएकी थिइन् । उनका बुबा भेन्किटरमनले केल्ट्रन र आमा सुधा केचेरीले इन्डियन ओभरसिज बैंकमा काम गरेको बताइएको छ ।
सन् २००३ मा हार्वर्ड विश्वविद्यालयमा अध्ययन पूरा गरेपछि रमन दिल्ली पुगेकी थिइन् । त्यहाँ उनले सुकुम्बासी तथा अनधिकृत बस्तीका बासिन्दाको प्रतिनिधित्व गर्ने संस्थाहरूसँग काम गरेकी थिइन् । कमनवेल्थ खेलकुदको तयारीका क्रममा निष्कासनको जोखिममा परेका दिल्लीका बस्तीवासीसँग पनि उनले नजिकबाट काम गरेकी थिइन् ।
रमनले न्युयोर्क सिटीका मेयर जोहरान ममदानीसँग आफ्नो तुलना गरिनुलाई धेरै हदसम्म स्वीकार गरेकी छन् । तर, आफूलाई ममदानीको ‘वेस्ट कोस्ट संस्करण’का रूपमा चित्रण गरिएको भने अस्वीकार गरेकी छन् । ‘भ्यानिटी फेयर’ सँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, “म फरक छु । म आफैँ हुँ ।”
चुनाव प्रचार अभियानमा घरबारविहीनको समस्या प्रमुख मुद्दा बनेको थियो । यस विषयमा मतदाताको चिन्ता र उम्मेदवारका प्रतिबद्धता चुनावी बहसका केन्द्रमा रहेका थिए ।






