काठमाडौं, २० कार्तिक २०८३ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।
यो जितसँगै चितवन तेस्रो स्थानमा उक्लिएको छ । पाँच अंक बनाएको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउनसक्यो ।
पोखरालाई सस्तैमा समेट्न रिजन ढकालले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा २४ रन खर्चिए । कमलसिंह ऐरीले तीन विकेट लिए । त्यसैगरी, डान मुस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।
पोखराका निम्ति अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । ओपनर युवराज साम्राले १९, किरण थगुन्नाले १३ र अर्जुन घर्तीले १२ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले पोखराविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो ।
चितवनको लागि शिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । उनले १६ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । १९.४ ओभरमा पनि उनले बाउण्ड्रीको लागि सटको प्रयास गर्दा क्याच हुन पुगेका थिए । उनलाई कप्तान चमिका करुणारत्नेले अर्जुनबाट क्याच गराएका थिए ।
रबि बोपाराले ३५ रन बनाए । उनले आजै टी–२० तर्फ १० हजार रन पूरा गरेका थिए । यी दुईको जोडीले मध्यक्रमलाई लय दिएका थिए । उनीहरूले १९.२ ओभरसम्म ६० रनको अर्धशतकीय साझेदारी गर्दै टोलीलाई उक्त लक्ष्यसम्म डोर्याउन सहयोग गरे ।
ओपनर अर्जुन साउदले ३१ रन बनाए । डेविड मलानले २८ रन बनाए । चोटका कारण तीन खेलको अनुपस्थित तोड्दै कम्ब्याक गरेका कुसलले ११ रन बनाए ।
पोखराको लागि कप्तान कुरुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए ।
हारसँगै पोखराको प्लेअफ छनोट कमजोर बनेको छ । टोलीले लगातार चौथो हार व्यहारेपछि प्लेअफ सम्भावना कठिन बनेको हो । टोलीले बाँकी खेलमा विजयी भए पनि मात्र ६ अंक बटुल्नेछ ।






