Online Bichar
बिहिबार, कार्तिक २०, २०८३ | Thursday, November 5, 2026

काठमाडौं, १९ कार्तिक २०८३ । नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार, चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको हो ।

उनका अनुसार, तिहारका समयमा देउसीभैलो, मेलापात तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने जुवातास, मादक पदार्थ तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडालाई नियन्त्रण गर्न विशेष निगरानी बढाइएको छ । सम्भावित जोखिम भएका क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिने प्रहरीले जनाएको छ । भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिनेछ । त्यस्तै, विभिन्न स्थानमा गस्ती, पेट्रोलिङ, चेक प्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ ।

पटका, भुइँचम्पा, झिरझिरे तथा अन्य विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा निगरानी कडा पारिएको प्रवक्ता काफ्लेले बताए । त्यस्ता गतिविधि शून्यमा झार्ने लक्ष्यसहित प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

‘तिहार हाम्रो सांस्कृतिक, सामाजिक सद्भाव र पारिवारिक एकताको पर्व हो । क्षणभरको मनोरञ्जनका लागि पटका पड्काउँदा कसैको जीवनभरको खुसी खोसिन सक्छ । त्यसैले पटका नपड्काउन र त्यस्ता सामग्री भित्रिएको वा प्रयोग भएको सूचना पाएमा प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने ।

चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने तथा मिठाईलगायत खाद्यवस्तुमा मिसावट गर्ने गतिविधि नियन्त्रण गर्न पनि प्रहरीले विशेष निगरानी बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन भइरहेको काफ्लेले जानकारी दिए ।

यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन छुट्ने स्थानमै पुगेर चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरे नगरेको जाँच गरिनेछ । सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणलाई प्राथमिकता दिइएको छ भने लामो दुरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य राख्ने व्यवस्थाको निगरानी गरिने प्रहरीले जनाएको छ ।

यात्रुको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सीमावर्ती क्षेत्रबाट स्वदेश फर्किने नेपाली नागरिक ठगी तथा लुटपाटमा नपरून् भन्ने उद्देश्यले थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताए ।

त्यस्तै, तिहारमा घर खाली गरेर बाहिर जाने नागरिकलाई घरको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ । लामो समय घर खाली रहने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी गराउन, बहुमूल्य सामान तथा गरगहना घरमा नराख्न र सम्भव भएसम्म सीसीटीभी जडान गर्न प्रहरीले सुझाव दिएको छ ।

लक्ष्मीपूजाका दिन दियो तथा मैनबत्ती बाल्दा पर्दा, कपडा र आगो सल्किने वस्तुबाट टाढा राख्न, बालबालिकालाई प्रज्वलनशील सामग्री नदिन तथा प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्न पनि आग्रह गरिएको छ । निगरानीबिना मैनबत्ती तथा दियो बालेर नछाड्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न प्रहरीले सचेत गराएको छ ।

आगलागी, दुर्घटना तथा अन्य विपद्का सम्भावित घटनालाई तत्काल सम्बोधन गर्न प्रहरीका क्विक रेस्पोन्स टिम ९क्यूआरटी० तथा सीआरभी टोली तयारी अवस्थामा राखिएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया