काठमाडौं, १७ कार्तिक २०८३ । आन्द्रे रसेल चम्कँदा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो जित निकालेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमै समेटियो ।
यो जितसँगै विराटनगरले तालिकामा चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । टोलीले रन रेटका आधारमा कर्णाली याक्सलाई पछाडि पारेको छ ।
लगातार जित निकालेको विराटगरले यसअघि सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो ।
जनकपुर बोल्ट्सलाई रोक्न पावरहितर आन्द्रे रसेलले निर्णायक भूमिका खेले । ब्याटिङ र बलिङ दुवैमा उनले उत्कृष्ट प्रर्दशन गर्दै टिमलाई जिततर्फ दोहोर्याए ।
विशेष गरी, बलिङमा रसेलको इनिङ टर्निङ प्वाइन्ट बन्यो । उनले चार ओभरमा चार विकेट लिए । रसेलले पहिलो विकेटको रूपमा जनकपुरका मोइन अलीलाई ४.२ ओभरमा क्याच गराए । मोइन पभेलियन फर्किएकोे दुई बलपछि जनकपुरले पुनः विकेट गुमायो ।
४.४ ओभरमा रसेलले अनिलकुमार शाहलाई शुभज रञ्जालनेबाट क्याच गराए । यी दुई ब्याटर गुमाएपछि जनकपुरको सुरुआत कमजोर बन्न पुग्यो । पावर प्लेमा टोलीले ४० रन मात्र बनायो ।
त्यसपछि, रसेलले डेथ ओभरमा दुई महत्त्वपूर्ण विकेट लिए । यी विकेटपछि खेल विराटनगरको पञ्जामा आएको थियो । जनकपुरलाई १९औँ ओभरमा १३ रन मात्र आवश्यक थियो । रसेलले १९.२ ओभरमा कप्तान हर्मित सिंहलाई क्याच आउट गराए । उनीमाथि चौकाको प्रयास गर्दा हर्मित बसिर अहमदबाट क्याच हुन पुगेका थिए ।
अन्तिम बलमा रसेलले सैफ हसनलाई पनि क्याचको सिकार बनाए । ७१ रन बनाएर जनकपुरलाई अगाडि बढाइरहेका उनलाई बसिरले नै क्याच गरेका थिए । रसेलले यसरी दुई विकेट लिएर टोलीलाई जिताए । उनीबाहेक एञ्जेलोले दुई विकेट र रुपेश सिंहले एक विकेट लिएका थिए ।
जनकपुरको लागि सैफले ७१ रनको अर्धशतकीय पारी खेले । एनपीएलमा उनको यो पहिलो अर्धशतक थियो ।
तेस्रो नम्बरका ब्याटिङ गर्न आएका उनी अन्तिम समयसम्म टिमलाई जिताउन प्रयास गरिरहेका थिए । उनले ४८ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेका थिए ।
विशाल सुस्लिङले ४३ रन बनाए । उनीहरूले ७६ रनको साझेदारी गर्दै मध्यक्रममा टिमलाई उकास्ने प्रयास गरेका थिए । जिम्मी निसमले २७ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।
लोकश बम र इम्रान शेखको जोडीले विस्फोटक अर्धशतकीय इनिङ खेल्दै विराटनगरको निम्ति आधार तयार गर्यो । उनीहरूको आक्रामक प्रर्दशनबाट विराटनगरले पावर प्लेबाटै लय लियो । पावर प्लेमा उनीहरू जमेपछि टोलीले एक विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।
इम्रानले ५६ रनको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे ।
जारी सिजनमा र एनपीएलमा इम्रानको यो पहिलो अर्धशतक हो । उनले यसअघि दोस्रो सिजन कर्णाली याक्सबाट खेले पनि अर्धशतक भने प्रहार गर्न सकेका थिएनन् ।
लोकेशले ५० रन बनाए । जारी सिजनमा लोकेशको यो दोस्रो अर्धशतक हो । उनले यसअघि कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । ८७ रनको उक्त विस्फोटक इनिङमा उनले तीन चौका र नौ छक्का प्रहार गरेका थिए ।
एपनीएलमै भने उनले चौथो अर्धशतक प्रहार गरेका हुन् । पहिलो सिजन र दोस्रो सिजन विराटनगरबाट खेलेका उनले कुल दुई अर्धशतक प्रहार गरेका थिए । उनले ४० बलमा समान तीन चौका र छक्का प्रहार गरे ।
साथै, यी दुईले १०७ रनको शतकीय महत्त्वपूर्ण साझेदारी गरे । उक्त साझेदारीले विराटनगरलाई लय कायम राखिराख्न भूमिका खेल्यो । रसेलले तेस्रो अर्धशतक प्रहार गर्दै टोलीलाई चुनौतीपूर्ण लक्ष्यतर्फ दोहोर्याए । उनको इनिङले टिमलाई झन् आक्रामक बनायो । जारी सिजनमा रसेलले तीन खेलपछि पहिलो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले सुदूरपश्चिम रोयल्सविरुद्ध २९, कर्णालीविरुद्ध २७ र चितवन राइनोजविरुद्ध ३३ रन बनाएका थिए ।
चौथो नम्बरमा ब्याटिङ आएका उनले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । रसेलले २९ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १७ रन लिएपछि विराटनगरले पहिलो इनिङ १७४ रन बनाउँदै समाप्त गरेको हो ।
जनकपुरको निम्ति अभिषेक तिवारीले तीन र मोइनले एक विकेट लिए । जनकपुर भने हारसँगै तालिकाको तेस्रो स्थानमा झरेको छ । समान चार अंक बनाएको जनकपुर रन रेटका आधारमा पछाडि परेको हो । टोलीले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ ।






