काठमाडौं/झापा, १७ कार्तिक २०८३ । डेढ वर्षअघिसम्म पठाओ चढेर हिँड्ने इनम सापकोटा अहिले देशकै ठूलो बिचौलियाका रूपमा प्रकट छन्। उनले बोलाउँदा लुरुलुरु न्यायाधीशसम्म होटल–होटल पुग्छन्। सुरक्षा निकायसँग उनले त्यतिकै पहुँच छ। प्रधानमन्त्रीको सचिवालयसम्म पनि उनकै पहुँच र इसारा हुन्छ।
प्रधानमन्त्री वालेन्द्र शाहको मान्छे भन्दै सर्वोच्च अदालतका न्यायाधीश, सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएको उच्च व्यक्तिसँग नै मोलमोलाई गर्छन्। को हुन त नेपालको राजनीतिक नेतृत्व, न्यायालय, सुरक्षा संयन्त्र, कर्मचारी प्रशासनलाई हलचल पैदा गर्ने इनम ? कसरी छोटो समयमा र सानै उमेरमा उनले मारे छलाङ ? २०५२ मा जन्मिएका इनम नेपालकै बदनाम पात्रका रूपमा देखा परेका छन्।
देश–विदेशका प्रतिष्ठित शैक्षिक संस्थामा अध्ययन गरेका उनी कसरी ठूलो बिचौलियाको रूपमा देखिए। अहिले सर्वत्र कौतुहलता छ। उनले आफू प्रधानमन्त्री बालेनको मान्छे भन्दै न्यायालय, प्रशासनिक क्षेत्रलाई समेत नचाएको सार्वजनिक भएको छ। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। जति–जति प्रहरीले उनीसँग अनुसन्धानको क्रममा बयान लिइरहेको हुन्छ, त्यति नै अस्वाभाविक नेक्सस् उनको देखिएको छ। सोही कारण उनको विषयमा सूचना दिनसमेत प्रहरीसमेत हच्किरहेको छ।
चोलेन्द्रका छोरासँगको सम्बन्धले नै बनायो बिचौलिया
सामान्य परिवारका इनम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको छोरासँग सम्बन्धले एकाएक उच्च तहसम्म हिमचिम बढेको देखिन्छ। चोलेन्द्र छोरासँग इनमको लिटिल एन्जल्स स्कुलमा भेट भएको हो। दुवै जना त्यही पढेका हुन्। स्कुल तहको यो मित्रतालाई नै उनलाई चोलेन्द्रसम्मको ‘नेक्सस’ दिलायो। चोलेन्द्रसँगकै कनेक्सन देखिएपछि उनको पहुँच उच्च नेतृत्वसँग भयो। चोलेन्द्रले इनमलाई राजनीतिक चलखेलमा लाग्न पनि उक्साएका थिए।
गत असोज १० गते राति प्रहरीले जबरालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनको मोबाइल फोनसमेत नियन्त्रणमा लिएको थियो। उक्त फोन परीक्षण गर्दा जबरा र इनमबीच पटक–पटक सम्पर्क भएको विवरण फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले इनमलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेको अवस्थामा नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार उनले बयानका क्रममा पनि पूर्वप्रधानन्यायाधीश चोलन्द्रले आफूलाई प्रयोग गरेको बताएका छन्।
नेपालकै कुख्यात बिचौलियाका रूपमा चिनिने दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालको मुद्दामा पनि आफू प्रयोग भएको बयान उनले दिएका छन्। इनमलाई भट्टसँग चिनजान पनि चोलेन्द्रले गरिदिएका थिए। दीपक भट्टकै कारण उनका दाजु एवं लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत सुशील भट्टको इनमसँग सम्बन्ध बन्यो। इनम र दीपकसँग सम्बन्ध र कारोबारकै कारण नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुरमा अनुसन्धान गर्न बोर्डका पूर्वकार्यकारी अधिकृत सुशीलसमेत पक्राउ गरेर हिरासतमा राखिएको छ।
अहिले भट्ट दाजुभाइ, व्यवसायी अग्रवाल हिरासतमा नै छन्। जुन दीपक भट्ट पुराना दलका नेताहरूको नेक्ससमा बिचौलिया बनेर ठूलाठूला सेटिङ धन्दा चलाउँथे। उनलाई समेत माथ खुवाउने गरी इनमको गतिविधि देखियो, जसले राजनीतिक नेतृत्वमा मात्रै होइन न्यायालयसम्मलाई बहसको केन्द्रमा पुर्यायो। नेपाली सेनासमेतसँग उनको नेक्सस् अनुसन्धानको क्रममा देखिएको स्रोतको दाबी छ।
पूर्वपरराष्ट्रमन्त्री देउवासँग कनेक्सन
सापकोटाको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कनेक्सन रहेको थियो। उनले परराष्ट्रमन्त्रीकै गाडीसमेत प्रयोग गर्ने गरेको निकटस्थ स्रोतहरूको दाबी छ। आरजु पानीपोखरीस्थित इनमको अपार्टमेन्टमा समेत आउजाउ गर्थिन्। झापाका इनम त्यही अपार्टमेन्टमा बस्ने गरेका थिए। उनीहरूबीच व्यापारिक कारोबारमा निकट सम्बन्ध रहेको थियो।
आरजुका कारण नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, स्वकीय सचिव भानु देउवासँग पनि उनको सम्बन्ध हुने नै भयो। बयानका क्रममा इनमले चालेन्द्रले नै कांग्रेससँग हिमचिम गराउन सहजीकरण गरेको बताएका छन्। सुरुवातमा बालकृष्ण खाँण उनको सम्बन्ध स्थापित भएको थियो। जतिखेर खाँण गृहमन्त्री थिए। पछि खाँण नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिए।
कांग्रेस नेता उमेश श्रेष्ठसँग समेत उनको सम्बन्ध रहेको बयानबाट खुलेको छ। इनमले लिटिल एन्जल्समा समेत अध्ययन गरेका थिए। श्रेष्ठ सोही स्कुलका संस्थापक भएकै कारणले पनि इनमको सम्बन्ध श्रेष्ठसँग गासियो। कांग्रेसको विशेष महाधिवेशन पनि उनको चलखेल गरेको विषय बाहिर आए पनि त्यसको पुष्टि भने भएको छैन। उनले आफूलाई नेपालका लागि अमेरिकी राजदूतको डाक्टर भएको दाबी गर्दै आफ्नो चिनारी दिने गरेका थिए। यद्यपि यसको पनि कतै पुष्टि हुन सकेको छैन।
चुनावमा बालेनको प्रचार
२०८२ मा झापाको क्षेत्र नम्बर ५ को निर्वाचनमा पनि इनम सक्रिय थिए। उनी रास्वपातर्फकै उम्मेदवार वर्तमान प्रधानमन्त्री शाहको प्रचारमा गएका थिए। राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि बालेन झापा–५ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचन क्षेत्रबाट बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले हराएका थिए। चुनावी अभियान सञ्चालनका लागि उनी बालेनको सचिवालय तथा समर्थकहरूसहित दमकमा सक्रिय थिए।
इनमको २०८२ फागुन २१ को निर्वाचनमा राष्ट्रिय निर्वाचन पर्यवेक्षकका रूपमा परिचालित भएको कार्ड नै सार्वजनिक भएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका छोरासँग लिटिल एन्जल्स स्कुलमा भएको मित्रतालाई प्रयोग गर्दै इनम सापकोटाले न्यायालय, राजनीति र सुरक्षा निकायका उच्च अधिकारीहरूसम्म आफ्नो सञ्जाल विस्तार गरेका हुन्।
दीपक भट्ट, सुलभ अग्रवाल तथा पूर्वलगानी बोर्ड कार्यकारी अधिकृत सुशील भट्टसँग जोडिएका विवादित मुद्दा र सेटिङमा प्रयोग भएको बयान दिँदै उनले दीपक भट्टजस्ता पुराना बिचौलियालाई समेत माथ खुवाउने गरी चलखेल गरेको पाइएको छ।
पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको गाडी प्रयोग गर्ने इनमको नेपाली कांग्रेसका नेताहरू पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि उमेश श्रेष्ठसम्म पहुँच तथा हिमचिम रहेको पाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत भाग्न लाग्दा प्रहरी नियन्त्रणमा परेका इनम हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्स तर उनको पहुँच र सञ्जालका कारण प्रहरी स्वयं विवरण सार्वजनिक गर्न हच्किएको छ।
झापा दमकका सामान्य पारिवारिक पृष्ठभूमिमा हुर्किएर भारत, जर्मनी र अमेरिकासम्मको अध्ययनरबसाइको दाबी गर्ने ३१ वर्षीय इनमको एकाएक देशका शीर्ष निकाय हल्लाउने ‘शक्तिशाली बिचौलिया’का रूपमा भएको उदय रहस्यमय र आश्चर्यजनक मानिएको छ।
को हुन् इनम ?
राजनीति होस् वा राज्यका अन्य महत्त्वपूर्ण निकाय, हरेक क्षेत्रमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने झापा र झापालीको चर्चा बेलाबेला राष्ट्रियस्तरमै हुने गरेको छ।
पछिल्लो समय झापा दमकका इनम प्रकरणले फेरि एकपटक झापालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यायालय, राजनीतिक नेतृत्व र व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग जोडिएको उनको सम्पर्क सञ्जालबारेका विवरणहरू एकपछि अर्को गर्दै सार्वजनिक भएपछि अहिले देशभर एउटै प्रश्न उठिरहेको छ– आखिर को हुन् इनम सापकोटा ?
दमकमा सामान्य पारिवारिक पृष्ठभूमिमा हुर्किएका ३१ वर्षीय इनम कुनै समय स्थानीय स्तरमा सामान्य युवाका रूपमा चिनिन्थे। तर, अहिले उनको नाम देशका उच्च राजनीतिक तथा प्रशासनिक वृत्तमा चलखेल गरेको आरोपसँग जोडिएर चर्चामा आएको छ।
२०५२ सालमा जन्मिएको इनम दमक नगरपालिका–५ (साबिक वडा नं. १०) का राम सापकोटाका एक्ला छोरा हुन्। उनका बुवा राम स्वास्थ्य सहायक (एचए) हुन्। उनी विदेशी संस्था लुथरन वल्र्ड फेडरेसन दमकमा कार्यरत थिए। उनी त्यसबेला नेकपा (एमाले) मा आबद्ध थिए। इलामको साबिक फुँएतप्पा गाविस हाल फाकफोकथुम गाउँपालिका मूल घर भएका इनमको परिवार बसाई सरेर गौरादहको चप्रामारीमा आएर सुरुमा बसे। त्यसपछि सो परिवार दमकतर्फ लागे। दमक–५ मा टिनको छानो भएको एक तले घर बनाएर बसे।
२०६३ सालमा छिमेकी रुद्र गौतमलाई त्यो घर बेचे। त्यसपछि दमक–१३ स्थित कस्मिक पार्टी प्यालेसनजिक गएर पुनः पक्की घर बनाएर बसेका थिए। त्यो घर पनि बेचेर उनको परिवार हाल काठमाडौं बस्दै आएको उनका छिमेकी रुद्र गौतमले बताए। उनका बाबु हाल बूढानीलकण्ठमा बस्छन् भने इनम छुट्टै अपार्टमेन्ट लिएर पानीपोखरी हाइटमा बस्दै आएका छन्।
छिमेकी गौतमका अनुसार इनम बाल्यकालदेखि नै लजालु तथा मिलनसार स्वभावका थिए। तर, उनी अरूसँग घुलमिल हुन भने उत्तिकै सिपालु थिए। इनमले दमक–५ स्थित मदरल्यान्ड इङ्लिस बोर्डिङ स्कुलमा कक्षा २ सम्म पढेका थिए। त्यसपछि दमक–६ स्थित सूर्योदय इङ्लिस सेकेन्डरी स्कुल पढेका हुन्। उनले ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलबाट विज्ञान विषयमा प्लस टु सम्मको अध्ययन गरे।
उच्च शिक्षा अध्ययनका लागि उनी भारत गएका थिए। उनले दिल्लीमा एमबीबीएस पढ्न गएको बताइन्छ। तर, उनले दिल्लीमा एमबीबीएस नभई हरियाणामा पारामेडिकल विषय पढ्न गएको उनका एक आफन्तले जानकारी दिए। अध्ययनका लागि भारत हुँदै जर्मन पुगेका उनी अमेरिकाको ग्रिनकार्ड होल्डरसमेत हुन्।
उनले जर्मनीमा जलवायु परिवर्तनमा विद्यावारिधिका लागि पुगेका थिए। त्यसलाई बीचैमा छाडेर उनी अमेरिकाको हावर्ड विश्वविद्यालयमा भर्ना हुन पुगेका थिए। त्यहाँ उनको पढाइ कुन तहमा पुगेको हो भने खुलेको छैन। उनका साथीभाइहरू इनमलाई सुरुदेखि नै महत्वकांक्षी स्वभावको रहेको बताउँछन्।
‘६ महिनाअघि भेट्दासम्म उनी सामान्य व्यवहार देखाउँथे। एकाएक यति ठूलो सेटिङ गर्ने बिचौलियाका रूपमा नाम आउँदा छक्क परेको छु, अन्नपूर्णको सम्पर्कमा आएका उनका एक सहपाठी सुनाउँछन्।
इनमले ठूला मुद्दा मिलाउने क्रममा भएका भेटघाट र सर्वोच्चका न्यायाधीशहरूलाई ललितपुरको होटल हिमालयमा भेटेको विषय अब संसद्मा समेत चर्चा हुने भएको छ। प्रधानमन्त्री शाहको समेत नाम लिएर न्यायालयलाई त्रासदीमा राख्न उनले गरेको भेट्घाटले न्यायाधीशलाई महाभियोग हुन सक्नेसम्मको घटनाक्रम विकसित भएको छ।अन्नपूर्णपोष्टबाट






