Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

भैरहवा, १७ कार्तिक २०८३ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सबै आरोपी कोटहीमाई गाउँपालिका–६ का हुन्।

गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा कोटहीमाई गाउँपालिका–५, छोटकी मझगाँवाको ४१ वर्षीया जोबेदा खातुन धोबीको शव बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एंव प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार, महिलाको टाउकोमा कोदालोको बिँडले प्रहार गरेर र घाँटीमा हँसियाले घोपेर हत्या गर्नुका साथै कानमा लगाएको सुनहरु लुटिएको थियो ।

घटनामा संग्लन आरोपमा पक्राउ परेका चारै जनाविरुद्ध ज्यानसम्बन्धी, करणीसम्बन्धी, चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया