Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

काठमाडौं, १७ कार्तिक २०८३ । बेलायतकी गृहमन्त्री शबाना महमुदले पहिले नै बसोबास गरिरहेका विदेशी केयर वर्करहरूलाई स्थायी बसोबासका लागि १५ वर्ष कुर्नुपर्ने प्रस्ताव फिर्ता लिएकी छन् ।

सांसदहरूको विरोधपछि गरिएको नीतिगत परिवर्तनबाट करिब दुई लाख ८२ हजार आप्रवासी लामो प्रतीक्षा अवधिबाट जोगिने भएका छन् । यससँगै प्रभावित हुने अनुमानित संख्या सात लाख ९९ हजारबाट घटेर पाँच लाख १७ हजारमा झरेको बीबीसीले जनाएको छ ।

महमुदले सांसदहरूलाई नयाँ नीति निष्पक्षतामा आधारित रहेको बताउँदै अपवादको व्यवस्थामा नपर्ने, वार्षिक ५० हजार पाउन्डभन्दा कम कमाउने आप्रवासीहरू भने स्थायी बसोबासको १० वर्षे प्रक्रियामै रहने स्पष्ट पारेकी छन् ।

नयाँ व्यवस्थाअनुसार, वार्षिक कम्तीमा २५ हजार पाउन्ड कमाउने र सन् २०२५ को मे भन्दा अगाडि बेलायत आइपुगेका विदेशी केयर वर्करहरू पाँच वर्षपछि अनिश्चितकालीन बसोबास अनुमति (आईएलआर) का लागि योग्य हुनेछन् ।

तर, छाया विदेशमन्त्री क्रिस फिलिपले यसलाई सरकारको निर्णय परिवर्तन भन्दै यसबाट करदातालाई १० अर्ब पाउन्डसम्म भार पर्न सक्ने दाबी गरेका छन् ।

आईएलआर पाएपछि व्यक्तिले बेलायतमा अनिश्चितकालसम्म बस्न, काम गर्न र अध्ययन गर्न पाउँछन् । योग्यताअनुसार सरकारी सुविधाका लागि पनि आवेदन दिन सक्छन् ।

प्रधानमन्त्री एन्डी बर्नह्यामले सुधारलाई समर्थन गर्दै समुदायमा महत्त्वपूर्ण योगदान गर्ने विदेशी कामदारलाई त्यसअनुसार मूल्यांकन गर्नु न्यायोचित हुने बताएका छन् । ब्रेक्जिटपछि बेलायतमा आप्रवासन बढेको पृष्ठभूमिमा सरकारले योगदानका आधारमा स्थायी बसोबासको व्यवस्था अघि सारेको हो ।

नयाँ ‘सेटलमेन्ट’ नीतिका मुख्य व्यवस्था
केयर वर्करलाई पाँच वर्षे बाटो
वार्षिक कम्तीमा २५ हजार पाउन्ड कमाउने र मे २०२५ अघि बेलायत आएका केयर वर्करले पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन् । केयर भिसा प्रणालीमा भएको दुरुपयोगलाई सम्बोधन गर्ने उद्देश्यले सरकारले यो व्यवस्था गरेको हो ।

दोस्रो अवसर
प्रारम्भिक भिसाका सर्त पूरा गर्न नसकेका केही केयर वर्करलाई वेलायतलाई नयाँ पाँच वर्षे भिसा दिनेछ । यसबाट उनीहरूले ठगी गर्ने वा शोषणकारी प्रायोजकबाट अलग भएर नयाँ रोजगारदाता खोज्न सक्नेछन् । यस्तो प्रक्रियामा सरकारी सहयोग पनि उपलब्ध हुनेछ ।

सुरक्षित र कानुनी मार्गका शरणार्थी
नयाँ सुरक्षित तथा कानुनी मार्गबाट बेलायत आउने शरणार्थीलाई पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्ने व्यवस्था बेलायतले गरेको छ ।

गैरकानुनी प्रवेशमा लामो प्रतीक्षा
साना डुंगामार्फत इङ्लिस च्यानल पार गर्नेलगायत गैरकानुनी माध्यमबाट बेलायत प्रवेश गर्ने व्यक्तिले सामान्यतः स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्नेछ । काम वा अध्ययन नगर्नेहरूका हकमा थप १० वर्ष जोडिने व्यवस्था छ, जसले प्रतीक्षा अवधि ३० वर्षसम्म पुर्‍याउन सक्ने बताइएको छ । बीबीसी र इन्डिपेन्डेन्टबाट ।

 

तपाईको प्रतिक्रिया