Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

काठमाडौं, १७ कार्तिक २०८३ । सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार (कात्तिक १७) बिहान करिब ८ः११ बजे फिस्टेल र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकापसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याड क्षेत्रमा भएको दुर्घटनामा तीनजना घाइते छन् । दुर्घटनामा परी भारतको चेन्नईका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव प्रभु एयरको हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको छ । उक्त फिस्टेल एयरमा चालक दलसहित तीनजना सवार थिए ।

घाइते हुनेमा न्युजिल्यान्डका नागरिक अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेलका पाइलट रवीन्द्र प्रजापति र डाइनेस्टीका पाइलट प्रजल केसी छन् ।

घाइतेमध्ये पटेल र फिस्टेलका पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उपचारका निम्ति काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

डाइनेस्टीका पाइलट केसीको उपचार लुक्लास्थित निकोल निक्की अस्पतालमा भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया