सुर्खेत, १२ कार्तिक २०८३ । जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुंगा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार, आर्थिक वर्ष २०७३/७४ मा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानको रकम कानुनविपरीत ऋण तथा सापटी लिएको देखाएर हिनामिना गरिएको थियो । उक्त रकममध्ये १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना भएको आयोगको दाबी छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैसीसँग १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्यस्तै, तत्कालीन व्यवस्थापन समिति सदस्य नेपालीसँग एक लाख रुपैयाँ, लेखा सहायक सिंहसँग १७ लाख ४१ हजार ४४६ रुपैयाँ र पूर्वप्रधानाध्यापक सिंहसँग पनि १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो माग गरिएको छ ।
आयोगले चारैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गर्न र सोही ऐनको दफा १७ अनुसार सजाय गर्न मागदाबी गरेको छ ।
विद्यालयका पदाधिकारी तथा कर्मचारीले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सम्म जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानको रकम सापटी लिएको तर फिर्ता नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दा आर्थिक वर्ष २०७३र७४ मा प्राप्त पुस्तकालय अनुदानको रकम हिनामिना भएको देखिएको आयोगले जनाएको छ ।






