Online Bichar
बुधबार, कार्तिक १२, २०८३ | Wednesday, October 28, 2026

काठमाडौं, ११ कार्तिक २०८३ । नेपालमा पनि भारी वर्षा र हिमपात गराउने भनिएको बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ भारतको जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान छ ।

‘अर्नब’ नेपालसम्म आइपुग्दा समुद्री चक्रवातकै तीव्रतामा नरहने पूर्वानुमान रहेको मौसमविद् विनोद पोखरेल बताउँछन् ।

तर, यसले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीचको अन्तरक्रियाले भारी वर्षा गराउने सम्भावना रहेको उनको भनाइ छ ।

“अहिलेको पूर्वानुमानअनुसार लुम्बिनी र गण्डकीदेखि कोसीसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ,” मौसमविद् पोखरेल भन्छन्, “विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सचेत रहनुपर्ने देखिन्छ ।”

वर्षाको स्थान, समय र मात्रा भने अझै फेरिन सक्ने मौसमविद् पोखरेलले प्रस्ट पारेका छन् ।

यसैबीच, ‘अर्नब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्नब’को प्रभाव यही कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

सम्भावित विपद्का घटनाबाट जोगिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी र खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान र आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न तथा विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान पनि प्राधिकरणले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया