Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौँ, २२ असोज २०८३ । त्रिभुवन विश्वविद्यालयले यस शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ।

बिहीबार आयोजित त्रिविको ६७औँ वार्षिक दिवस बैठकले ६४औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो।

त्रिविका रजिस्ट्रार रवीन्द्र शिवाकोटीले प्रस्तुत गरेको विवरणअनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ। ग्रेस लिस्टमा परेका कुल विद्यार्थीमध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका छन्। सूचीअनुसार एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमातर्फ १८४ र विद्यावारिधितर्फ १६६ विद्यार्थी रहेका छन्।

संकाय तथा अध्ययन संस्थानतर्फ सबैभन्दा धेरै व्यवस्थापन संकायका ४३ हजार १४२ विद्यार्थी छन्। यस्तै मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४४१, शिक्षाशास्त्रमा १० हजार ५३३ र कानुन संकायमा ३ हजार १ विद्यार्थी रहेका छन्। अध्ययन संस्थानतर्फ विज्ञान तथा प्रविधिमा ६ हजार ६८८, इन्जिनियरिङमा ५ हजार १६०, चिकित्साशास्त्रमा १ हजार ९२०, कृषि तथा पशु विज्ञानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ विद्यार्थी रहेको रजिस्ट्रार शिवाकोटीले जानकारी दिए।

रजिस्ट्रार शिवाकोटीले भने, ‘२०८२ असार १ देखि २०८३ असार मसान्तसम्मको ६४औँ ग्रेस लिस्टअनुसार कुल ९५ हजार ५४० विद्यार्थी रहेका छन्। व्यवस्थापन संकायको स्नातक तहमा ३२ हजार १५२, स्नातकोत्तरमा १० हजार ९०४, एमफिलमा ६०, पीजीडीमा १८ र विद्यावारिधिमा ८ जनाले ट्रान्सक्रिप्ट लिएका छन्। त्यसैगरी शिक्षाशास्त्रको स्नातकमा १६ हजार ३८९, स्नातकोत्तरमा ३ हजार ४३, एमफिलमा २८, अधिसनातकमा ५२ र विद्यावारिधिमा २१ जनाले ट्रान्सक्रिप्ट लिएका छन्। उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि २०८३ पुस महिनामा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको छ।’

विश्वविद्यालयले आगामी पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरिरहेको छ। यस वर्षदेखि विद्यार्थीको सहजताका लागि सातै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गरिनेछ।

 

तपाईको प्रतिक्रिया