Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

झापा, २२ असोज २०८३ । चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधनको चेकजाँचमा कडाइ गरेको छ ।

त्यस क्रममा आज बिर्तामोडमा ३५ वटा सिटी सफारीलाई कारबाही गरिएको छ । सवारी नियम उल्लंघन गर्ने सिटी सफारीका चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

उनले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र राजमार्गमा सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले यात्रामा निस्कनुअघि आफू जाने गन्तव्यसम्मको सडकको अवस्था तथा सवारीसाधनको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी वर्षाका कारण जोखिममा रहेका सडकखण्डमा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो।

नजिकिँदै गरेको चाडपर्वहरु दशैँ, तिहार, छठलाई लक्षित गरी पूर्वी नेपालको काँकरभिट्टा हुँदै देशका विभिन्न स्थानमा स्थलमार्गबाट यात्रा तय गर्ने यात्रुहरुलाई लक्षित गर्दै ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । प्रहरीले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया