Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

काठमाडौं, २२ असोज २०८३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजार,३ नम्बर नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले वलीविरुद्ध बिहीबार विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

वलीविरुद्ध १० लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।
छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय,मनमैजु,काठमाडौंमा पठाइदिने र छुट जग्गा दर्ताको सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ।

अख्तियारको टोलीले वलीलाई सेवाग्राहीबाट १० लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि वलीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया