Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

झापा, २० असोज २०८३ । झापामा तास र लंगुरबुर्जा खेल्ने खेलाउने ११ जना पक्राउ परेका छन् । तास खेल्दै गर्दा ७ जना र लंगुरबुर्जा खेलाउँदै गर्दा ४ जना पक्राउ परेका हुन् । आइतवार मेचीनगर वडा नं. १० धुलाबारीमा ४५ वर्षीय जमिन राईले संचालन गरेको सेकुवा कर्नरमा जुवातास खेलाइरहेको अबस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएर सेकुवा कर्नरको पछाडि उत्तरपट्टी रहेको टिनको छानो भएको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर वडा नं. १० बस्ने किरण लम्साल, वडा नं. ५ दोकानडाँडा बस्ने विशाल लावती,वडा नं. १० बस्ने हर्कराज राई, वडा नं. ७ बस्ने प्रकाश लावती, वडा नं. ३ बस्ने सागर बस्नेत, वडा नं. १० बस्ने मेदनी बराल र वडा नं. ५ बस्ने शेखरनाथ भण्डारी रहेका छन् । उनीहरूको साथबाट ८ बुङ तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा झापा जिल्ला अदालतबाट चार दिनको म्याद प्राप्त गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मेचीनगरमै लंगुरबुर्जा खेलाउँदै गर्दा चारजना पक्राउ परेका छन् । हिजो मेचीनगर-८ इटाभट्टा चोकमा लंगुरबुर्जा (डाइस) खेलाउँदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरीको टोलीले मेचीनगर ६ बस्ने चेतबहादुर लिम्बू, सोही ठाउँ बस्ने दिपक चौधरी, वडा नं ५ बस्ने सनम तामाङ र वडा नं ७ बस्ने जुगल भुजेललाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ १८ हजार ५० र भारतीय रुपैयाँ २००, डाइस बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया