Online Bichar
आइतबार, आश्विन १८, २०८३ | Sunday, October 4, 2026

झापा, १७ असोज २०८३ । झापाको मेचीनगरबाट प्रतिबन्धित भारतीय चिठ्ठा र नगद रकमसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाका ४५ वर्षीय गेलु शेर्पालाई आज (शनिबार) बिहान ११ बजे पक्राउ गरेको हो ।

शेर्पाले आफ्नै घरमा प्रतिबन्धित चिठ्ठा राखी बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो । सो क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ‘Royal’ लेखिएको भारतीय चिठ्ठा १३ बुङ बरामद गरेको जनाएको छ । प्रत्येक बुङमा १०० पिसका दरले जम्मा १ हजार ३०० थान चिठ्ठा रहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले शेर्पाको साथबाट नेपाली नगद १ हजार रुपैयाँ दरका १८ थान, ५ सय रुपैयाँ दरका २४ थान, १ सय रुपैयाँ दरका ६१ थान र ५० रुपैयाँ दरका ८ थान गरी जम्मा ३६ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ । बरामद सामग्रीसहित शेर्पामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया