काठमाडौं, १२ असोज २०८३ । नेपालमा प्रत्येक वर्ष करिब एकसय जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ । जनावरको टोकाइका घटना भने बर्सेनि दुई लाखभन्दा बढी हुने गरेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार, देशभर दुई लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना दर्ता भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ । मानवमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना पनि कुकुरकै टोकाइका कारण हुने मन्त्रालयले जनाएको छ ।
आज २८ सेप्टेम्बरमा विश्व रेबिज दिवस मनाइँदै छ । यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
रेबिज रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, स्थानीय तह र समुदायबीचको समन्वयमा जोड दिइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर हरेक वर्ष करिब ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान छ । रेबिजबाट हुने मृत्युमध्ये करिब ४७ प्रतिशत दक्षिण–पूर्वी एसिया र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गर्छ ।
मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो । लक्षण देखिएपछि यो लगभग शतप्रतिशत घातक हुने भएकाले जनावरले टोकेपछि लक्षण पर्खन नहुने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
नेपालमा रेबिजविरुद्धको खोप सेवा विस्तार गर्दै हाल २८६ वटा सेवा केन्द्रबाट खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, नेपालमा करिब ५० प्रतिशत जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्छ । विशेषगरी बालबालिका जनावरको टोकाइबाट हुने जोखिममा बढी रहने भएकाले उनीहरूलाई जनावरसँग सुरक्षित व्यवहारबारे सिकाउनुपर्नेमा जोड दिइएको छ ।
नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । त्यसका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढ गर्ने, कुकुरलाई सामूहिक रूपमा खोप लगाउने, कुकुरको संख्या व्यवस्थापन गर्ने, उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धि गर्ने रणनीति अघि सारिएको छ ।
स्वास्थ्य मन्त्रालयले कुकुर, बिरालो वा रेबिज संक्रमित हुन सक्ने अन्य जनावरले टोके वा चिथोरेमा तत्काल सावधानी अपनाउन आग्रह गरेको छ । जनावरले टोकेको वा चिथोरेको घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन मन्त्रालयले सुझाएको छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ नलगाउन पनि आग्रह गरिएको छ ।
घाउ धोइसकेपछि सम्भव भएसम्म तत्काल स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार रेबिजविरुद्धको खोप तथा आवश्यक उपचार सुरु गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
नेपालले रेबिज नियन्त्रणका लागि ‘एक स्वास्थ्य’ अवधारणालाई प्राथमिकतामा राखेको छ । यसअन्तर्गत मानव स्वास्थ्य, पशु स्वास्थ्य, वन्यजन्तु, वातावरण, स्थानीय तह र समुदायबीच समन्वयमा जोड दिइएको छ । रेबिज निवारण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई सबै सरोकारवाला निकाय र समुदायको साझा प्रयासबाट सम्भव हुने मन्त्रालयको भनाइ छ । रेबिज निवारणका लागि सातै प्रदेशमा रणनीति तथा रोडम्याप विकास, उच्च जोखिम क्षेत्रमा समुदायमा आधारित जनचेतना र मानव तथा पशु स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई प्राथमिकता दिइएको छ ।






