काठमाडौं, २१ असोज २०८३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट खटिएको विशेष टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा सहित उनका नातेदार र नजिकको सम्बन्ध भएका चार व्यक्तिको घरमा खानतलासी गरी कागजात र उपकरण बरामद गरेको छ ।
विभागसम्वद्ध टोलीले बाँसबारीस्थित जबराको निवास, मण्डिखाटारस्थित प्रभुशम्सेर जबराको निवास, रानीबारीस्थित पूर्वन्यायाधीश नवराज थपलियाको निवास, धुम्बाराहीस्थित नारायण दाहालको निवास, त्यही नजिकैको दीपक तिमल्सेनाको निवास र भक्तपुरस्थित नविन बस्नेतको निवासमा खानतलासी गरेको हो ।
‘नविन बस्नेतको घरमाथिको खानतलासी संयोगले एकै दिन परेको हो’ स्रोतले भन्यो, ‘उनको अनुसन्धान भने जबरासँगको उठबससँग सम्बन्धित छैन ।’
विभागले खानतलासी लिएकामध्ये प्रभुशम्सेर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका सहोदर भाई हुन् । उच्च अदालतको न्यायाधीश हुँदा आचरणका कारण बर्खास्तीमा परेका थपलिया पूर्वप्रधानन्यायाधीश जबराका साथै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माका समेत निकटवर्ती र विश्वासिला व्यक्ति मानिन्छन् ।
करिव दुई दशकदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूमाझ परिचित वर्णन मासिकका सञ्चालक नारायण दाहाल अदालतमा विचाराधीन मुद्दामामिलामा अस्वभाविक चासो र रुची राख्ने व्यक्तिका रुपमा परिचित छन् ।
सर्वोच्च अदालतको सूचना प्रविधिको क्षेत्रमा काम गरेर ‘करियर ग्रोथ’ गरेका तिमल्सेना चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश भएका बेला देउवा सरकारमा मन्त्री सिफारिस भएका व्यक्ति हुन् । उनी विभिन्न टेलिकम कम्पनीसँग आवद्ध छन् ।
‘चोलेन्द्र्रशम्सेर जबरालाई सुरक्षा जोखिम भएपछि अनुसन्धान गर्दा उहाँसँग विभिन्न विचौलिया र शंकास्पद व्यक्तिहरुको उठ्बस र अस्वभाविक क्रियाकलाप भेटियो’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्वद्ध स्रोतले व्यंग्यात्मक शैलीमा भन्यो, ‘त्यही सिलसिलामा बुधबार विभागको टोली उहाँहरूको घरमा गएको हो ।’
१० असोजको मध्यराति जबरालाई सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा लिएपछि झापाका इनम सापकोटालाई नियन्त्रणमा लिएको थियो ।
जबरा र इनमको फोन अनुसन्धान गरिरहेका सरकारी निकायहरूको सूचनाका आधारमा सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेर उनीमाथि अनुसन्धान गरेको हो ।
बुधबार मध्यान्ह १२ बजे परिचालित भएका टोलीहरू अपरान्हसम्म पनि फर्किएका थिएनन् । उनीहरूले ती घरहरूबाट महत्त्वपूर्ण कागजात, ग्याजेटका साथै अरु सामान बरामद गरेर नियन्त्रणमा लिएका थिए । विभागसम्वद्ध स्रोतले भन्यो, ‘चोलेन्द्र श्रीमानकोबाट आउनुपर्ने सामान पहिल्यै ल्याइएको थियो, अहिले औपचारिकताका लागि मात्रै गएका हौं ।’
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ‘हेलो सरकार’बाट आएको उजुरी छानबिनबाट थप सूचना संकलन भएको र त्यसपछि प्रधानमन्त्री बालेन शाहको टिमको सहमतिमा उनीहरूको घरमा खानतलासी गरिएको विभागसम्वद्ध स्रोतको दाबी छ ।
‘स्याउको बाकसमा घुस ओसारपसार हुँदोरहेछ भन्ने सूचना आएको थियो, त्यसमा कयौं घटनाका विस्तृत विवरणहरू उल्लेख थिए’ विभागसम्वद्ध स्रोतले भन्यो, ‘स्याउको बाकस ओसारपसार तीब्र बनेको सूचना आएसँगै संकलन गरिएका सूचनाका आधारमा घरमा खानतलासी लिइएको हो ।’
तुलनात्मक रुपमा बलियो हुने, सानोतिनो बाहिरी चोटपटकले असर नपर्ने भएकाले घुस ओसार्न स्याउ लगायतका फलफूल ओसार्ने कार्टुन प्रयोग हुन्थे, जसलाई केही उजुरीकर्ताहरूले त्यसलाई सांकेतिक रुपमा ‘स्याउको बाकस’ नाम दिएर त्यसको ओसारपसार बढेको भनी प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए ।
जबरा-थपलिया सम्बन्ध
फागुन, २०८० मा बर्खास्तीमा परेपछि निष्कृयजस्तै रहेका उच्च अदालतका न्यायाधीश नवराज थपलिया प्रधानन्यायाधीशमा डा। मनोज शर्माको नियुक्तिपछि पछिल्लो समय एकाएक सक्रिय भएका थिए र त्यो सूचना प्रधानमन्त्री बालेन शाहको सचिवालयमा पुगेको थियो ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासँगको नजिकको सम्बन्धमा रहेका उनी पछिल्लो समय सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र त्यसका पक्षहरुसँग समेत भेटघाट तीब्र बनाएका थिए । र, सर्वोच्च अदालतसम्वद्ध स्रोतका अनुसार, उनको पहुँच न्यायप्रशासनका केही उच्च पदस्थ कर्मचारीहरूका साथै सर्वोच्चकै न्यायाधीशसम्म थियो ।
जबरामाथि महाभियोगको अनुसन्धान चलिरहेका बेला नेपाल बार एसोसिएसनले संघीय संसद सचिवालयमा एक ज्ञापनपत्र बुझाएको थियो, जसमा जबरा, शर्मा र थपलियाको त्रिपक्षीय सम्बन्ध उल्लेख थियो ।
‘सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र उच्च अदालत जुम्लाका न्यायाधीश नवराज थपलियाबीच प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट मुद्दामा फैसला गराउने सम्बन्धमा पटक–पटक भए गरिएका सम्वाद मार्फत अनियमितता गरिएको भन्दै‘।।’ ५ चैत, २०७९ मा बारले संसदमा पठाएको विवरणपत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री तीलप्रसाद श्रेष्ठद्वारा छानबिन भइरहेकोले ती सम्पूर्ण कल डिटेल र सम्वादमा संलग्न माननीय न्यायाधीशहरुलाई बुझी प्रमाणमा लगाइ पाउन अनुरोध गरिन्छ ।’
सर्वोच्च अदालतसम्वद्ध स्रोतका अनुसार, अहिले पूर्वप्रधानन्यायाधीश जबरा र थपलिया त्यही शैलीमा सक्रिय भएको र त्यसको प्रभाव विशेष लगायत सर्वोच्चमा पनि देखिन थालेको भनी हेलो सरकारमा परेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फरवार्ड भएको थियो, जहाँ केही मुद्दाका विवरणहरु समेत समावेश थिए ।
विभागले जबराको सम्पत्तिका साथै उनका भाई प्रभुशम्सेरको सम्पत्तिको अनुसन्धान पनि थालेको छ । प्रभुशम्सेरले किनेको जग्गा र त्यसमा लिएको ऋणलाई उनका दाई चोलेन्द्रशम्सेरले आफ्नो भनी स्विकारेका थिए ।
दाहाल, तिमल्सेना र बस्नेत
अदालतमा चलेका मुद्दामामिलामा चासो राख्ने र त्यसै सिलसिलामा न्यायाधीशसम्म पहुँच बनाएको आरोप खेपिरहने व्यक्ति हुन्, नारायण दाहाल । वर्णन मासिक प्रकाशित गर्ने उनले पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाह, दामोदर शर्माको पालामा आफूलाई निकै सक्रिय बनाएका थिए ।
कल्याण श्रेष्ठको पालादेखि भने उनलाई अड्डा अदालतमा सक्रिय निरुत्साहित गरिएको थियो र त्यो क्रम सुशीला कार्कीको कार्यकालसम्म कायम थियो ।
दीपकराज जोशीको पालामा उनी निकै सक्रिय भएका थिए, त्यसपछि भने अदालती मामिलामा सक्रिय देखिएका थिएनन् । पछिल्लो समय प्रधानमन्त्री कार्यालयको पत्राचारपछि विभागले दाहालमाथि समेत निगरानी बढाएको थियो ।
सर्वोच्च अदालतको सूचना प्रविधि (आईटी) शाखाबाट करियर ग्रोथ गरेका दिपक तिमल्सेना उपकरण खरिदको विवादमा परेपछि कल्याण श्रेष्ठको पालादेखि अदालतबाट विदा भएका हुन् । त्यसपछि उनी अदालत बाहिर सूचना प्रविधिको क्षेत्रमा नै सक्रिय थिए ।
चोलेन्द्रशम्सेर जबरालाई प्रधानन्यायाधीश बनाउन संसदीय सुनुवाई समितिमा पुगेका उनी पछि भने जबराकै सिफारिसमा देउवा सरकारका पालामा मन्त्री हुने अन्तिम तयारीमा थिए, पछि भने विभिन्न नेताहरूले प्रश्न उठाएपछि उनको नियुक्ति रोकिएको थियो । उनको नियुक्ति हुन नसकेको केही सातापछि असोज, २०७८ मा गजेन्द्र हमाल उद्योगमन्त्री भएका थिए ।
विभागको टोलीले घर खानतलासी गर्न गएको थाहा पाएपछि दिपक तिमल्सेना आफैं पुल्चोकस्थित विभागको कार्यालय पुगेका थिए । ‘काममा अवरोध गरे पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउने’ चेतावनीपछि भने उनी त्यहाँबाट हिडेको विभागसम्वद्ध स्रोतले बतायो । घर खानतलासी भएकामध्ये विभागले कसैलाई पनि पक्राउ गरेको छैन ।






