Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

झापा, ६ मंसिर २०८३ । ध्वनि प्रदूषण गर्दै ठूलो आवाज निकालेर कुदाउने मोडिफाई मोटरसाइकलको आतंक बिर्तामोडमा बढ्दै गएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्वाही गर्दै आएपनि त्यस्ता मोडिफाई मोटरसाइकलको आतंक घट्न सकेको छैन । गएराति एकसाथ बिर्तामोडमा ठूलो आवाज निकालेर आतंक फैलाउँदै गर्दा पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको करिव ५ सय मिटर दक्षिण जात्रुवारीमा राति १०:५० बजे ध्वनि प्रदूषण गर्दै ठुलो आवाज निकाली चलाइरहेको अबस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक हिमाल शमसेर राईको टोलीले नियन्त्रणमा लिएको हो । मे ९ प ५५५३ न. बुलेट, प्र.१–०१–०१९ प. ८७८७ न.को बुलेट ,को १३ प ७८३२ न.को एफजेड, मे १२ प १८९ न.को बुलेट र प्र.१–०२–०५१ प.९७७९ न.को डुक मोटरसाइकललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । उनले केही दिनअघि ६ वटा मोडिफाई मोटरसाइकल नियन्त्रणमा लिई कार्वाही गरिएको जानकारी दिए ।राति केजीएफको आयोजनामा जात्रुबारीमा सांगीतिक कार्यक्रम रहेको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोडिफाई मोटरसाइकल कार्वाही गर्दै आएको छ । जिल्लाभरि २ सयभन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । मोडिफाई मोटरसाइकलले रातको समयमा सर्वसाधारणलाई आतंकित पार्दै आएपछि केही महिनाअघि बिर्तामोड-४ का स्थानीयवासीले घेराउ गरेर एउटा मोटरसाइकल नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।त्यस्तै इलाका प्रहरी कार्यालय दमकले करिव दुई महिनाको अवधिमा १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही गरेको जनाएको छ ।

त्यस किसिमको मोटरसाइकललाई पूर्णरुपमा नियन्त्रण गर्न जरुरी छ । ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउने बित्तिकै प्रहरी , स्थानीयवासी र घरपरिवार समेतले नियन्त्रणमा लिनुपर्ने अबस्था आएको छ ।

तपाईको प्रतिक्रिया