Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

विराटनगर, २१ असोज २०८३ । विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असोज २५ र २६ गते प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागीय टोलीका १७० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा हुने प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीले जानकारी दिए ।

प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । एकल स्पाइरिङमा पुरुषतर्फ ४५–५० किलोदेखि ८६ किलोभन्दा माथि र महिलातर्फ ४०–४५ किलोदेखि ७६ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा गराइने कार्कीले बताए ।

ग्रुप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फका खेलाडी सहभागी हुनेछन् । प्याटनतर्फ हरियो, नीलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ग्रुप प्याटन र सेल्फ डिफेन्समा पनि पुरुष तथा महिला खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टोलीका लागि छनोट गरी बन्द प्रशिक्षणमा राखिने आयोजकले जनाएको छ । छनोट भएका खेलाडीले आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंमा हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

प्रतियोगितामा महासंघका तीन प्रतिनिधि, ३५ अम्पायर, ३० प्रशिक्षक तथा व्यवस्थापक र पाँच स्थानीय अम्पायरसहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहने आयोजकको भनाइ छ । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठले प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको बताए ।

प्रतियोगिताको उद्घाटन असोज २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ । समापन असोज २६ गते सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया